हेटौँडा \ मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट संघको सशक्त नेतृत्वको आवश्यकताबारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएका छन्। संघको हालका गतिविधि र व्यवसायीहरूको समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यवसायीहरूको हक, अधिकार, र हितलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउछन ।
व्यवसायीक सोच, योजनाबद्ध दृष्टिकोण, र सुधारको अठोट लिएर अघि बढिरहेका रानाभाट हाल संघका उपाध्यक्षसमेत हुन्। प्रमोद सिंह रानाभाट संघको नेतृत्वमा व्यवसायीहरूको हित सुनिश्चित गर्न थप सुधार र सशक्तिकरणको आवश्यकता महसुस गर्छन्। उनका अनुसार संघ व्यवसायीहरूको साझा मञ्च हो, तर विगतका वर्षमा संघले व्यवसायीहरूको वास्तविक समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन।
रानाभाट भन्छन्, “संघले व्यवसायीक वातावरण सुधार गर्नुपर्छ। व्यवसायीहरूको समस्यामा समाधान खोज्ने, उनीहरूको हक र अधिकारका लागि सरकारसमक्ष बलियो आवाज उठाउने आवश्यकता छ। म यही कमीलाई पूरा गर्न आएको हुँ।” रानाभाटका अनुसार, व्यवसायीहरूले स्थानीय सरकारदेखि संघीय सरकारसम्म कर प्रणाली, अनुमति प्रक्रिया, र अन्य प्रशासनिक जटिलताका कारण धेरै समस्याहरू भोगिरहेका छन्। व्यवसायीक हितका लागि प्रभावकारी नीति र त्यसको कार्यान्वयन अभाव हुँदा व्यवसायीहरूले आफ्नो व्यापारलाई सहज बनाउन कठिनाइ महसुस गरिरहेका छन्। उनी भन्छन्, “व्यवसायीहरूको समस्या समाधान संघको मुख्य भूमिका हो। तर, विगतमा संघले यी समस्याहरूलाई सम्बोधन भएपनी पर्याप्त भएको दिएको छैन। व्यवसायीहरूको आवाजलाई सशक्त बनाउँदै उनीहरूको समस्यामा दिगो समाधान खोज्न म प्रतिबद्ध छु।” हेटौंडा बजारमा भइरहेको सडक विस्तारलाई व्यवस्थित गर्न र व्यवसायीहरूको हितलाई सुनिश्चित गर्न पनि रानाभाटले सरकारसँग समन्वयकारी भूमिका खेल्न आवश्यक देखेका छन्। “सडक विस्तार हेटौंडाको विकासका लागि जरुरी छ।
तर, यो काम व्यवस्थित ढंगले अघि बढ्नुपर्छ। व्यवसायी र घरधनीलाई मर्का नपर्ने गरी सरकारले समन्वय गर्नुपर्छ,” उनले भने। संघलाई सबै व्यवसायीहरूको प्रतिनिधित्व गर्ने प्रभावकारी संस्था बनाउने योजनासहित रानाभाट अघि बढेका छन्। व्यवसायीक हितका लागि संघको पहुँच प्रत्येक व्यवसायीसम्म पुर्याउने उनको अठोट छ। उनी भन्छन्, “संघ केवल केही सीमित व्यवसायीहरूको संस्था होइन। यो सबै व्यवसायीहरूको साझा मञ्च हो। मेरो नेतृत्वमा संघले व्यवसायीहरूको हरेक गुनासोलाई समयमै समाधान गर्न सक्ने बनाइनेछ।” रानाभाटले महिला र युवा उद्यमीहरूको सशक्तिकरणलाई पनि प्राथमिकतामा राखेका छन्। उनले विशेष तालिम, सहुलियत ऋण, र व्यवसायीक अनुदान कार्यक्रमहरू सञ्चालन गरेर उनीहरूको क्षमता विकास गर्ने योजना अघि सारेका छन्। “महिला र युवाहरू उद्यमशीलतामा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरूलाई सशक्त बनाउन विशेष पहल गरिनेछ,” रानाभाटले बताए। मकवानपुरका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ठोस योजना र रणनीति आवश्यक रहेको उनले बताएका छन्।
“हाम्रो उत्पादन गुणस्तरीय छ, तर अन्तर्राष्ट्रिय बजारमा पु-याउन सही रणनीति छैन। संघले व्यापार प्रवर्द्धनका लागि निर्यात योजनामा काम गर्नेछ,” उनले भने। प्रमोद सिंह रानाभाटलाई भोट किन दिने भन्ने प्रश्नमा उनी आफ्नो अनुभव र प्रतिबद्धता प्रस्तुत गर्छन्। “मकवानपुर उद्योग वाणिज्य संघ व्यवसायीहरूको हक र अधिकारका लागि बनेको संस्था हो। तर, विगतमा यो संस्था व्यवसायीक अपेक्षाअनुसार प्रभावकारी हुन सकेको छैन। मेरो नेतृत्वमा संघले व्यवसायीक हितलाई प्राथमिकता दिनेछ। व्यवसायीहरूको समस्यामा दिगो समाधान खोज्ने र उनीहरूको हकको रक्षा गर्ने मेरो प्रतिबद्धता छ। म केवल नेतृत्वका लागि होइन, व्यवसायीहरूको विश्वास जित्न आएको हुँ। यस पटकको निर्वाचनले संघलाई सही नेतृत्व दिनेछ,” रानाभाटले भने।
उनले व्यवसायीहरूलाई संघको महत्त्व बुझ्न र सही नेतृत्व छान्न आग्रह गरेका छन्। “यो निर्वाचन केवल नेतृत्वको चयन होइन, यो मकवानपुरका व्यवसायीहरूको भविष्यको दिशा तय गर्ने अवसर हो। संघ व्यवसायीहरूको लागि हो, र यसलाई सशक्त बनाउन तपाईँहरूको मतको आवश्यकता छ। आउनुस्, सबै मिलेर संघलाई प्रभावकारी बनाऔं,” उनले भने।