हेटौंडा \ हेटौंडा जेसीजको वर्ष २०२५को लागि कार्यकारिणी उपाध्यक्षमा सन्तोष पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । ५ वर्षे जेसीज यात्रापछि उनले कार्यकारिणी उपाध्यक्षमा आफ्नो उम्मेदवारी अघि सारेका हुन् ।
शनिबार हुने निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणासँगै आफ्नो प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन् । उनले विगतमा सिकेका अनुभवहरूलाई साट्दै सदस्यहरूको व्यक्तिगत र व्यावसायिक विकासका लागि उच्चस्तरीय तालिम र अवसरहरू प्रदान गर्ने बताएका छन् । भविष्यमा पनि संगठनको दीगो विकासका लागि प्रभावकारी योजना निर्माण र नयाँ सदस्यहरूको संलग्नता सुनिश्चित गर्नेमा प्रतिवद्ध रहेको सिधाखबरलाई बताए । सबै सदस्यहरूको विचार, सुझाव, र इच्छालाई सम्मान गर्दै सामूहिक निर्णय प्रक्रियामा समावेश गर्नेछु उनले भने । संगठनको प्रशासनिक तथा नेतृत्व संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा अग्रसर हुने समेत उनले बताएका छन् ।
म सन् २०१९ जेसिआईमा प्रवेश गरेको हुँ, २०२० मा एरिया बी संयोजकको रुपमा एरिया भित्रका गतिविधिहरूलाई प्रभावकारी बनाउँदै सदस्यहरूको सहभागिता र सक्रियतालाई प्रोत्साहित गरेँ उनले भने ।
सन् २०२१ मा सचिवको रूपमा संस्थाको प्रशासनिक पक्षलाई व्यवस्थित गर्दै संस्थाको कार्यप्रवाहलाई थप प्रभावकारी बनाउन योगदान गरेँ भने २०२२ मा महाधिवेशन संयोजकको रूपमा जेसीआईको प्रमुख कार्यक्रम सफलतापूर्वक आयोजना गरे सँगै २०२३ उपाध्यक्षको रूपमा संस्थाको विकासका लागि रणनीतिक योजना निर्माण र कार्यान्वयनमा अग्रसर भएको बताए । हाल पराजुली तालिम संयोजकको रूपमा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विविध प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै संगठनलाई अझ सशक्त बनाउँदै आएका छन् ।
सामाजिक कार्यमा समेत सक्रिय रहेका पराजुली लायन्स क्लव अफ हेटौंडा नारायाणी मलको पूर्व अध्यक्ष तथा सुन्दर युवा सञ्जालका उपाध्यक्ष समेत रहेका छन् । जेसिआई हेटौंडालाई अझ शसक्त, उन्नत, र दीर्घकालीन प्रभावकारी बनाउन मेरो सम्पूर्ण अनुभव, ज्ञान, र समर्पण प्रस्तुत गर्न तयार रहेको बताउँदै पराजुलीले भने तपाईंहरूको विश्वास, समर्थन, र मतले मलाई यो जिम्मेवारी पूरा गर्न थप प्रेरणा र बल प्रदान गर्नेछ ।