हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्ने बताउँनुभएको छ । शुक्रबार हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसद्धारा सञ्चालित विजनेश ईन्क्युवेसन सेन्टर उद्घाटन गर्नुहुँदै उहाँले अबको शिक्षा सीप, व्यवसायी र रोजगारसँग जोडिएको हुनुपर्ने बताउनुभयो ।
समय सापेक्ष अनुसार अध्यापन गराइनिका साथै प्रविधिमैत्री र अध्ययन अनुसारको पढाईसँगै सीप पनि जरुरी रहेको उहाँको भनाई रहेको थियो । जे पढेका छौं, जे सीप छ सोही सीप अनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवाहरु विदेशिनु परेको हो, उहाँले बताउनुभयो । औद्योगिक क्षेत्र समेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिदैँ पढाईको क्रममा शिक्षक र विद्यार्थी दुवै सकरात्मक रहनुपर्ने बताउनुभयो ।
अध्ययन सँगै सीप सिकेर नेपालमै काम गरौं विदेश नजाऔं मुख्यमन्त्री लामाले भन्नुभयो । १२ कक्षा सम्मको अध्ययनपछि युवाहरु विदेश जानेको लर्को लागेकोले पढाईसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उहाँले बताउनुभयो । सेन्टर सञ्चालन पश्चात केही राहत हुने अपेक्षा रहेको हुनाले प्रदेश सरकारले यसमा गर्नुपर्ने साथ सहयोग अवश्य रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले पनि विद्यार्थीलाई व्यवसाय, रोजगारी र सीपसँग जाडिनुपर्ने बताउनुभयो । क्याम्पस पढ्ने विद्यार्थी संख्या बढ्दो रुपमा रहेको अवस्थामा जति छन् ती विद्यार्थीलाई पढ्दै काम गर्दै अभियानमा सहभागी गराएर अबको उच्च शिक्षा अनुसन्धानमूलक कार्यमा लैजानुपर्ने बताउनुभयो । बजारले खोजेको उत्पादन अब कलेजले पनि सोही अनुरुपका विद्यार्थी तयार पारेर बजारमा लैजानुपर्ने उहाँको जोड रहेको थियो ।
क्याम्पस व्यवस्थापक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले विजनेश ईन्क्युवेसन सेन्टर, इनोभेसन तथा स्कील ल्यावको विषयमा प्रस्ट्याउनुभएको थियो । उहाँले आवश्यकताको आधारमा अध्ययनसँगै रोजगारी र सीपलाई प्राथमिकतामा राख्दै सेन्टर सञ्चालन गरिएको बताउनुभयो । सिकाई, नयाँ सोच, रोजगार र नियमित अध्ययन हाम्रो पहिलो प्राथमिकता रहने उहाँले बताउनुभयो । क्याम्पसमा हाल चारवटा संकायमा ११ वटा कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको बताउँदै प्रमुख सिलवालले स्नातक र स्नातकोत्तर तह सम्ममा अध्यापन हुने बताउनुभयो । झण्डै साढे ६ हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पसमा त्रिभूवन विश्वविद्यालयका प्रायजसो नतिजाहरुमा नेपाल टप सँगै उत्कृष्ट अंक ल्याएर विद्यार्थीहरु पास भइरहेको अवस्था रहेको छ ।
हालै प्रकाशित मात्र विविएसको नतिजामा ८८.२० प्रतिशत अंक ल्याएर अन्वेश पोखरेल नेपाल टप भएको उहाँले बताउनुभयो । विविएम र विविएमा पनि ४ जिपिए ल्याई प्रथम स्थान हासिल गर्न सफल भएका छौं, हाम्रो क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक क्युएए प्राप्त गरिसकेको अवस्थामा प्रदेश सरकारले यसलाई प्रादेशिक क्याम्पसको अवधारणा अनुरुप अघि बढिसकेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका उपाध्यक्ष अशोक शाक्य, सदस्यहरु माइकल रामचन्द्र अर्याल, नवराज विष्ठ, ललितबहादुर घलान, कृष्णकुमार गुप्ता अग्रवाल, सर्केश घलान, विष्णुप्रसाद दहाल, उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, पूर्व क्याम्पस प्रमुख डा. शकंरनाथ उपाध्याय, प्राध्यापक संघका सभापति घनश्याम घिमिरे, स्ववियु सभापति छोइसाङ लामालगायतको आतिथ्यता रहेको थियो ।