हेटौंडा \ बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले श्रमिकहरुको श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटियुसीसी) प्रदेश समन्वय समितिद्धारा शुक्रबार हेटौंडामा आयोजित प्रदेश स्तरीय श्रम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री महर्जनले सबै क्षेत्रका श्रमिकहरुको श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
श्रमिकले आफ्नो अधिकारलाई माथी राख्दै श्रममा लागेका श्रमिकहरुले उठाएका विषयमा आफ्नो अधिकारमा परेका विषयवस्तुमा प्रदेश सरकारले नीतिगत रुपमै सहयोग पु¥याउने बताउँनुभयो । संघीय सरकारसँग प्रयाप्त अधिकार छ, तर प्रदेशको श्रम मन्त्रालयमा अधिकार धेरै नभएकाले पनि श्रम र श्रमिकसँगको अधिकारका विषयमा गरिनुपर्ने कार्यहरु गर्न सकेका छैनौं, मन्त्री महर्जनले भन्नुभयो ।
युवा शक्तिलाई स्वदेशकै श्रममा लगाउन सके विदेश जान रोक्न सक्थ्यौं तर यहाँ श्रम र श्रमिकका विषयका नीतिहरु प्रष्ट नभएको होकी कार्यान्वयनमा ढिलासुस्ती भएको हो बुझ्न सकेका छैनौं, उहाँले बताउनुभयो । उद्योगी र श्रमिकबीचको सम्बन्ध पनि बिग्रदोले श्रमिकका अधिकारहरु कुण्डित भएको अवस्था छ, श्रमिकसँग जोडिएका ट्रेड युनियनहरुले कुण्डित अधिकारको विषयमा बोल्नुपर्ने उहाँको जोड रहेको थियो ।
सरकारमा रहेर हामीले श्रमका एकल अधिकार कुरा लागू गर्ने कुरामा प्रतिवद्ध रहेको बताउँदै संघका रहेका अधिकार प्रदेशतहमा ल्याउन सातैवटा प्रदेशका श्रम मन्त्रीहरुको छलफल भइरहेको समेत बताउनुभयो । श्रमसँग जोडिएका विभिन्न मुद्धाहरुमा प्रदेश सरकारसँग अधिकार नभएकाले हामीले साथ सहयोग गर्ननसकेको अवस्था छ , सहयोग नगर्नाले प्रदेश सरकारले हामीलाई केही गर्न सकेन भनेर चित्त नदुखाउन मन्त्री महर्जनले आग्रह गर्नुभएको छ ।
जेटियुसीसीका बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा जेटियुसीसीका राष्ट्रिय संयोजक योगेन्द्र कुँवर, महिला संयोजक विष्णु थापामथर, सदस्य ईन्द्रदेव मिश्र, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललगायतको आतिथ्यता रहेको थियो । सम्मेलनमा १० घटक ट्रेड युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।