कैलाश \ खानेपानी तथा सरसफाईका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु गरेको छ । मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए ।
शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाई सम्बन्धी काम गर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमा टोलटोलमा कामहरु गर्न सफल भएको बताए ।
हरेक टोललाई पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए । मकवानपुरमै पहिलो पटक यस अभियान सुरु गरेको बताउँदै अध्यक्ष मोक्तानले भने अब टोलबाट सुरु भएको अभियान वडा हुँदै पालिकासम्म पुग्ने र वडा घोषणा सँगै पालिका घोषणा गर्ने लक्ष्य आफ्नो रहेको बताए । हामीले यस अघि मकवानपुरमै पहिलो पटक चेली प्रोत्साहन कार्यक्रम सुरुवात गरेका थियौं अहिले खानेपानी र सरसफाई सम्बन्धी अभियान सुरु गरेको उनले बताए ।
नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)सँगको सहकार्य र कैलाश गाउँपालिले सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको थियो । सो क्रममा गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
हामीले अभियानको क्रममा घोषणाका लागि स्वच्छ र सफा घरका सूचकहरुको निर्धारण गरी सो सूचक पूरा गर्नका लागि कामहरु गरिएको अध्यक्ष मोक्तानले बताए । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, प्रयाप्त पानीसहित चर्पीमा सरसफाई सामाग्री भएको, खुला स्थानमा दिशा नभएको, बच्चाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । साथै बच्चालाई फोहोरबाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूत स्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाडा सुकाउने र राख्ने ¥याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायतका डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरीएको उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लीलबहादुर कार्कीलगायतले आफ्ना भनाई राखेका थिए ।