हेटौंडा \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताउनु भएको छ । उहाँले सरकार ढल्छ, टिक्दैन भन्ने तर्कमा कुनै सत्यता नरहेको समेत बताउनु भयो । ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महामन्त्री थापाले कांग्रेस माथि चौतर्फी घेराबन्दी रहेको बताउनुभयो । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको भन्नुहुदै उहाँले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दावी गर्नु भयो ।
पटक पटक देशलाई निकास दिँदै आएको कांग्रेसले ततकालको फाइदा भन्दा पनि संविधान पालनालाई प्राथमिकतामा राखेको भन्दै उहाँले कांग्रेस अन्य दलहरुको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको औल्याउनु भयो । राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भुमिका रहनुपर्ने महामन्त्री थापाको भनाई छ । दलहरुको कमजोरी र समस्याको भारी संविधान र व्यवस्थालाई बोकाउन नहुने भन्दै व्यवस्थाको चिरस्थायीको लागि संविधानको अभ्यास अनुसार पुनःरावलोकन गर्नुपर्ने उहाँले बताउनु भयो ।
‘संविधानको विधि प्रक्रिया अनुसार सरकारले काम गरिरहेको पनि देशभित्र उकुसमुकुस छ ।
अहिले नागरिकले विकास समृद्धि र आथिक उपार्जनको माग छ । कांग्रेसले अब त्यो माग पूरा गर्नुपर्छ ।’ महामन्त्री थापाले भन्नु भयो, ‘संविधानमा रहेका कमि कमजोरी सच्याउने र व्यवहारमा ठिक ढंग अघि बढ्न संविधान संशोधन गर्नेगरी सत्ता साझेदार दलहरु बीच संयन्त्र निर्माण भएको छ सो संयन्त्रले साझा धारणा निर्माण गरेर अन्य दलसंग संवाद गरेर संरचनागत एजेण्डामा छलफल गरिने छ ।’
संविधानले व्यवस्था गरेका समावेशीता, संघीयता लगायतका व्यवस्थालाई खलल पु¥याउने विषयमा पुनःरावलोकन गर्न कांग्रेस तयार छैन भन्दै उहाँले कांग्रेसले निर्वाचन प्रणालीलाई सदृढ गरी ४० प्रतिशत मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्नेगरी छलफल गरीरहेको बताउनु भयो ।
केही व्यक्तिले गरेको गलत क्रियाकलापको कारण नागरिकहरु माझ नैराश्यता बढेको भन्नुहुदै उहाँले एक व्यक्तिले गरेको गल्तीको दोष व्यवस्थालाई बोकाउनु गलत भएको औल्याउनु भयो । कांग्रेस, एमाले र माओवादी बसेर सबै फाइलको लिस्ट तयार गरी खोल्ने काम गर्न महामन्त्री थापाले आग्रह गर्नुभएको छ । कांग्रेसको नीति नै दोषी उम्कनु हुँदैन, निर्दोष फस्न हुँदैन भन्ने रहेकाले राज्यले सबैलाई समान रुपमा व्यवहार गर्दै कानुन अनुसार सञ्चालन हुनुपर्ने उहाँको भनाई रहेको छ ।
सहकारी ठगीमा कांग्रेसका कोहि नेता कार्यकर्ता जोडिए तत्काल पक्राउ गरी कानुन अनुसार कारवाही गर्नुपर्ने उहाँले बताउनु भयो । कांग्रेसबाट आफू स्वयम नै भ्रष्टाचारको अभियोगमा पक्राउ परेमा पार्टीको झण्डा बोकेर सडकमा नआउन महामन्त्री थापाले आग्रह गर्नुभयो । नागरिकलाई बलियो बनाउने सरकार शक्तिशाली हुन्छ । नागरिकका अपेक्षा अहिले कै अवस्थामा पुरा हुन सक्दैन । नागरिकको आवश्यकता स्टन्ट बाजीले पनि चल्दैन । सरकारले नागरिकलाई डेलिभरी दिन गरी केही कानुन संशोधन गर्ने तयारी छ । नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना छ । तर, लगानीको वातावरण बनाउन जरुरी छ ।
त्यसका लागि छिट्टै कानुन संशोधन गर्ने तयारी छ । नेपालमा काम गर्न सजिलो छ भन्ने वातावरण तयार गर्नुपर्छ ।’ उहाँले भन्नू भयो । उहाँले आगामी निर्वाचनको समयमा कांग्रेसले परिणाम पत्र बोकेर नागरिक माझ जानुपर्नेहुँदा जिम्मेवारी र जवाफदेहीता सहित ३ वर्ष काम गरेर देश केही हुँदैछ भन्ने सन्देश दिन जरुरी रहेको बताउनु भयो ।
जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मोहन आचार्य, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला पूर्व सभापति रघुरमण न्यौपाने, मकवानपुरका नेता जयराम लामिछाने, क्षेत्र १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र २ प्रदेश खका सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला, काठमाडौं मकवानपुर सम्र्पक समितिका अध्यक्ष तेजप्रसाद घिमिरेलगायतले आफ्ना भनाइ राखेका थिए । सोही अवसरमा ३० जना पार्टीमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।