मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा बुधबार ४१ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ९८ वर्षका पदमबहादुर खड्कालाई न्यानो कपडा हस्तान्रण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । जापान-कोरिया समाज मकवानपुरगढी नेपाल नामक संस्थाको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।
विदेशमा बसेर गाउँघरका बाआमालाई सम्झेर सहयोगी हात बढाएको प्रति आभार व्यक्त गर्दै अध्यक्ष स्याङ्तानले युवाहरुले विदेशमा सिकेको सीपलाई अब गाउँघरमा प्रयोग गरिनुपर्ने बताए । कृषि र पशुपालन क्षेत्रमा राम्रो आम्दानी लिन सकिने भन्दै विदेश भन्दा गाउँमै केही गर्नुपर्ने भनी उनले आग्रह गरे ।
त्यस्तै वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले हाम्रो वडामा जेष्ठ नागरिकको संख्या धेरै रहेता पनि सामाजिक सुरक्षा भत्ता खाने मध्ये गाउँघरमै बसोबास गर्नेलाई पहिलो प्राथमिकतामा राखेर न्यानो कपडा वितरण गरिएको बताए । संस्था सँग वडाले आवश्यक समन्वय गरिरहेकोले छुटेका बाआमालाई अर्को चरणको कार्यक्रममा समेट्ने बताएका थिए ।
जेष्ठ नागरिक पदमबहादुर खड्काको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, वडा सदस्यहरु जीतबहादुर घलान, रणकुमारी परियार, शेरबहादुर लामा, वडा सचिव सागर लामालगायतको आतिथ्यता रहेको थियो ।
हाम्रो यो पहिलो प्रयास हो, आगामी दिनहरुमा थप सहयोग प्रदान गर्ने छौं, कार्यक्रम संयोजक अशोक स्याङ्तानले भने । अहिले हामी ५ जना जापान र दुई जना दक्षिण कोरियाका गरी सात जनाको सहयोगमा न्यानो कपडा प्रदान गरियो अब साथीहरुलाई पनि समेट्दै गाउँपालिकाको विभिन्न आर्थिक विपन्न परिवारलाई समेत हुने गरी सहयोग गर्ने तयारी छ, स्याङ्तानले बताए ।
यस अभियानलाई व्यवस्थित बनाउन सोमबहादुर स्याङ्तान दाईको भूमिका महत्वपूर्ण रहेको भन्दै हामी जति युवाहरु छौं मिलेर आफ्नो गाउँठाउँमा सहयोग गर्ने प्रतिवद्ध छौं, संयोजक स्याङ्तानले बताए । यस अभियानमा व्यवस्थापक सोमबहादुर स्याङ्तान(जापान), कार्यक्रम संयोजक अशोक स्याङ्तान(जापान), सहयोगीहरुमा जापानबाट एन्जल दहाल, निरोज पुडासैनी र अवीन सुवेदी, दक्षिण कोरियाबाट सन्तोष स्याङ्तान र सुर्यबहादुर लुङ्बाले सहयोग गरेको वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले बताए । सबै सहयोगी हातहरु वडा ६ निवासी हुन् ।