हेटौंडा \ हेटौँडा उपमहानगरका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढिकरणको अभिमुखीकरण कार्यक्रम भएको छ । नगर प्रमुख मीनाकुमारी लामाको उपस्थितीमा नगरपालिकाका सभाहलमा गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका कार्यक्रम संयोजक अनन्त बानियाँले नेपालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु परिवर्तनमा परिस्थितीकीय प्रणालीमा आधारित अनुकुलनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
मौसमको चरित्रमा परिवर्तन, कृषि र खाद्य सुरक्षा, जैविक विविधता प्रभाव, शिक्षा, स्वास्थ्य र कृषिमा प्रभाव, आवाज र संरचनामा प्रभाव र ऊर्जाको उत्पादनमा प्रभावसँगै जोखिम न्यूनीकरण र तयारीका विषयमा बृहत छलफल गरिएको थियो । वन संरक्षण र पुनस्र्थापना, कृषि प्रणाली अनुकुलन, जलवायु परिवर्तनका नीति र सुशासन, स्थानीय नीति निर्माणमा पालिकाको भूमिका केके हुन सक्छन् भनी सबैको राय सुझाब गरी छलफल गरिएको थियो ।
कार्यक्रममा उपमहानगरका वन तथा वातावरण समितिका संयोजक एंव वडा १० का अध्यक्ष फुर्वादोर्जे लामाले नेपालमा कानून धेरै बन्यो तर कार्यान्वयन भएनन् । हामीमा पनि कमजोरी छ, प्रदेश सरकार र हामीबीच समन्वयकारी भूमिका नभएको बताए । वन वातावरणको विषयमा नगरले आवश्यक नीति नियम निर्माण गरिनुपर्ने समेत वडाध्यक्ष लामाले बताए । कार्यक्रममा जलवायु परिवर्तनको हामी कारक हौं त ? भन्दै सहभागीहरुले प्रश्न उठाएका थिए । पक्कै पनि हामी होईनौ । हाम्रो राष्ट्रमा पश्चिमी वायुले गर्दा यस्तो भएको जनाइएको थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय प्रमुख सुर्यप्रसाद गौतमले वातावरणमा प्रभाव बढ्दै गएको र मानवीय क्रियाकलाप कम हुँदै गएको अवस्थाले पनि जलवायु परिवर्तनमा असर परेको बताए । पश्चिमा राष्ट्रले औद्योगिककरण र मिसाइल निर्माणले त्यसको प्रभाव हाम्रो राष्ट्रमा परेको उनले बताए । उपमहानगरले नगरक्षेत्र भित्र परेको जलवायु परिवर्तनका असर लक्षित आवश्यक नीति निर्माण गरिने बताए ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले पृथ्वीको तापनाप बढ्नाले जलवायु परिवर्तन भइरहेको बताए । नगरले योजना मात्रै बनाएर हुन्न त्यसको लागि बजेटनै बनाएर आवश्यक योजनाहरु बनाउनुपर्ने बताए । जलवायुले सबैभन्दा बढी स्वास्थ्य र कृषि क्षेत्रमा असर परेको भन्दै उनले वैकल्पिक कृषि गर्न आधारशिला बनाउनुपर्ने बताए ।
छलफलकै क्रममा वन तथा वातावरण शाखा प्रमुख चन्दा खड्काले ठ्याक्कै जलवायु सम्बन्धी नीति नभएपनि विपद्, आगलागी, पहिरो, फोहरमैला सरसफाइजस्ता विषयमा नीति बनेर कार्यानवयन भइरहेको बताईन् । उनले यी विषयवस्तुमा कहिँकतै जलवायुका विषयवस्तु समेटिएको समेत बताउँदै फेकोफनसँगको सहकार्यमा वन वातावरण, खहरे क्षेत्रको समस्यामा पनि काम गर्दै आइरहेको बताईन् । हाम्रोमा पहिलो भन्दा पनि आगलागीको घटना बढ्दो छ, खड्काले भनिन् । हामीसँग नक्सांकन पनि छ कहाँकहाँ जोखिम छ या छैन भन्ने त्यसबारे उपमहानगर प्रष्ट जानकारीका साथ रहेको छ ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ८ का वडाध्यक्ष रामकृष्ण थापा, ११ का वडा अध्यक्ष जुना दाहाल, १९ वटै वडाका वडा सदस्यहरु, उपमहानगरका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । गैसस महासंघले यस अघि पाँचवटा स्थानीय तहसँग छलफल गरिसकेको छ ।