बकैया \ मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रा.लि. बीच उपचार सहुलियत करारनामा सम्झौता भएको छ । शुक्रबार गाउँपालिकामा पुष्पाञ्जली हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक सुजनराज अधिकारी र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सम्झौता पत्रमा हस्तक्षर गर्नुभएको हो ।
बकैयाका गाउँपालिकावासिलाई स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा २५ प्रतिशतसम्म छुट सुविधा दिने, अस्पतालको सेवा जस्तैः बेडचार्ज, ल्याब टेस्ट, ई.सी.जी, इको, भिडिओ एक्सरे, एक्सरे, सिटीस्क्यान लगायतमा २५ प्रतिशत, अप्रेशन र क्याबीनमा १५ प्रतिशत छूट दिने र औषधीमा ७ प्रतिशत सम्म छूट दिने सम्झौता भएको छ ।
गाउँपालिकाका जनताको स्वास्थ्य उपचार सहुलियतको लागि अध्यक्ष लामिछानेले उक्त कार्य गर्न आफु लागि परेको बताउनु भयो । अध्यक्ष लामिछानेले स्थानिय तहमा स्वास्थ्य क्षेत्रमा सुधारको लागि विभिन्न कार्य गर्दै आउनुभएको छ । सम्झौताको क्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीले पालिकामा रहेका अति विपन्न, गरिब, असाहय मानिसको लागि निःशुल्क उपचार गर्न समेत आग्रह गर्नुभयो ।
सम्झौताका क्रममा पुष्पाञ्जली हस्पिटल सामाजिक सेवा ईकाई प्रमुख केदार प्रसाद सुवेदी, बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, गाउँपालिकाका सामाजिक विकास महाशाखा प्रमुख फटिकरमण प्याकुरेल, स्वास्थ्य संयोजक रमेश फुयाल लगाएतको सहभागिता रहेको थियो ।