हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेतृत्वका लागि कांग्रेस निकट व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्ला तहमा डिआई कांग्रेसगुट उपगुटबाट देखिएको राजनितिक झलक उद्योग व्यवसायीहरुको छाता संगठनमा प्रत्यक्ष देखिनु सामान्य कुरा हो । व्यवसायीको हक हितका लागि नारा लिएर नेतृत्वमा जानेहरुले यो पार्टी र त्यो पार्टी देखाउन नसकेपनि दुई कांग्रेसबीच यस पटक मउवा संघमा भिडन्त देखिन्छ ।
राष्ट्रिय तहमा एमाले कांग्रेस गठबन्धनको प्रभाव पत्रकारको निर्वाचन देखी बार एशोसिएसनसम्म पुगीसकेको छ । अझै भन्ने हो भने गाउँगाउँमा वन समूह, सहकारी, टोलविकास संस्था लगायतमा पनि गठबन्धनको प्रभाव परेको छ । राजनितिक अखडामा झेलिदैँ आएको मउवा संघमा यस पटक डिआई कांग्रेसकै प्रभुत्व हुने देखिन्छ भने एमाले माओवादी दुईगुट कांग्रेस जुधाएर सहभागिता जनाउने दाउमा छ । यस पटक मकवानपुर एमालेले दाउ हेर्दे नेतृत्वका लागि पर्ख र हेर गर्दागर्दै राष्ट्रिय राजनीति प्रभावले नेतृत्वमा जाने आँट गर्न सकेन भने संधै नेतृत्वबाट छायाँ पर्दै आएको नेकपा माओवादी निकट व्यवसायीहरु पनि डिआई कांग्रेसको ललीपपमा लम्पसार पर्नु बाहेक अरु देखिएन ।
मकवानपुरमा बानियाँ कांग्रेस र डिना कांग्रेस भनेर कार्यकर्ताले छुट्याउन थालेपछि व्यवसायीहरुको निर्वाचनमा पनि त्यो प्रभावले प्रशय पाउन स्वाभाविक भयो । मउवा संघको आसन्न निर्वाचनमा कांग्रेस निकट व्यवसायी अनिल अग्रवाल र प्रमोदसिं रानाभाटबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिन्छ । दुबै समूहले एमाले र माओवादी निकट व्यवसायीहरुलाई समेटेर आफ्नो प्यानल तयार गरेका छन् । अग्रवाल समूहलाई बानियाँ कांग्रेसको साथ रहेको र रानाभाट समूहलाई डिना कांग्रेसको साथ रहेको बजारमा चर्चा छ । हुन त दुबै समूह मिश्रित रुपमा छरिए पनि यद्यपि यस पटक कांग्रेसभित्रकै लडाईँ मउवा निर्वाचनमा देखिन्छ ।
रानाभाट समूहले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् भने अग्रवाल समूह घोषणाको तयारीमा जुटेका छन् । दुवै समूह खर्चको प्रवाह नगरि निर्वाचनमा आम्नेसाम्ने छन् । यस अघिका निर्वाचनमा आफै सँग प्रतिस्पर्धा गरेका व्यवसायीहरुको साथ लिएर अग्रवाल रानाभाट होमिएका छन् । व्यवसायीको संस्था, व्यवसायीकै नीति र व्यवसायीकै नेतृत्व भन्ने नारा लिएर रानाभाट चुनावी मैदानमा छन् भने व्यवसायीहरुको हकहितको सुरक्षा गर्दै क्षेत्रीय आवश्यकता र सम्भावनालाई ध्यानमा राखी संघलाई थप प्रभावकारी र व्यवसायी मैत्री बनाउने नारा लिएर अग्रवाल मैदानमा छन् ।
विस २०६८ सालमा कार्यसमिति सदस्य हुँदै ०७१ सालमा कोषाध्यक्ष, ०७४ मा महासचिव र हाल उद्योगतर्फको उपाध्यक्ष पदमा रहेर संघलाई नयाँ उचाईमा पु¥याउन अहम भूमिका खेलेको भन्दै रानाभाटले यस पटक नेतृत्वका लागि अग्रसरता बनाएको जनाइएको छ । आफ्नो जिम्मेवारीमा संघको गरिमा र ईतिहासलाई बचाउन र उद्योग व्यवसायीको आवाज बुलन्द बनाउन निरन्तर काम गर्दै खारिएर नेतृत्वका लागि सक्षम रहेको रानाभाटको दावी छ । उनले आफ्नो समूहमा एमाले निकट व्यवसायीहरु भनेर चिनिने रामप्रसाद न्यौपाने र उज्जवल चौलागाईलाई उपाध्यक्ष, प्रतिमा श्रेष्ठलाई महासचिव, राजाराम कार्कीलाई वस्तुगत सचिवमा अघि सारेर एमाले निकट व्यवसायीहरुको मत क्यास गर्ने दाउमा छन् । यति मात्र होइन रानाभाटले माओवादी निकट भनिने व्यवसायीहरु प्रदीप अर्याललाई उद्योग उपाध्यक्ष, जगदिश दाहाल सदस्यसँगै व्यवसायिक घराना भनेर चिनिने सुमार्गीग्रुपलाई समेत साथमा लिएर नेतृत्वमा बाजी मार्ने दाउमा रानाभाट देखिन्छन् ।
उनले स्वतन्त्र व्यवसायी र कांग्रेसनिकट व्यवसायी तथा एमाले माओवादी निकट व्यवसायीहरुको एकछत्र मत आफुले लिएर निर्वाचन जित्ने दाउमा उनी छन् । यसो त रानाभाटको वाणिज्य क्षेत्रमा कमजोर उपस्थितीलाई ऋणतिर्न जिल्ला तहका एमाले नेताहरु दौडधुपमा छन् । बजारको चर्चा अनुसार रानाभाटलाई अहिलेको एमाले नेतृत्वनै निर्वाचनमा विजयी गराउन कसरत देखिन्छन् । अर्कोकुरा सधै प्रतिस्पर्धामा रहेका एमाले निकट व्यवसायीहरुको साथ लिएर निर्वाचन हत्याउने रानाभाटको उति सजिलो छैन् ।
यता, आफुलाई वाणिज्यतर्फको बलियो खम्बा मान्ने अग्रवाललाई बानियाँ कांग्रेस निकट व्यवसायीहरुले खुलेरै बोकेको देखिन्छ । मनहरीमा आयोजित एक कार्यक्रममा बानियाँ निकट मानिने क्षेत्र २ का प्रदेश ख का सभापति रन्जन कालाखेती, क्षेत्र १ को ख का सभापति राजेश बानियाँ खुलेरै अग्रवाल समूहलाई जिताउन कम्मर कसेको देखिन्छ । २०७९ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनबाट ध्रुवीकरण भएको कांग्रेस मकवानपुरमा गुटको भेलबाढी बग्दै गएपछि एक समूहले अर्को समूहलाई सहयोग नगर्ने, कार्यक्रममा सहभागिता नजाउने जस्ता गतिविधिहरु प्रत्यक्ष रुपमा देखिदैँ आएको छ । मेलमिलाप दिवसको दिन डिआई कांग्रेसलाई मिलाउन भनी महामन्त्री गगन थापाले गरेको प्रयास सफल हुन नसकेपछि यो प्रभाव मउवा संघको निर्वाचनमा देखिएको हो ।
अग्रवाल समूह जिल्ला तहमा बलियो मानिने बानियाँ समूहको साथ समर्थन पाएपछि निर्वाचन जित्नेमा ढुक्क छन् । संघमा आमन्त्रित सदस्य हुँदै समितिमा प्रवेश गरेका अग्रवाल दुई पटक कार्यसमिति सदस्य र दुई पटक सहकोषाध्यक्ष भएका छन् भने एक पटक कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरेका छन् । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । वाणिज्य तर्फको उपाध्यक्षमा निर्वाचित भएर अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उनलाई वरिष्ठ उपाध्यक्ष समेत बनाएका थिए । वरिष्ठ उपाध्यक्ष भइसकेकाले आफु स्वत अध्यक्षको दावेदारी रहेको अग्रवालको दावी छ ।
उनले पनि पनि एमाले-माओवादी निकट भनेर चिनिने व्यवसायीहरुको समूहलाई साथमा लिएर प्यानल बनाएका छन् । प्राप्त जानकारी अनुसार अग्रवालले एमाले निकट व्यवसायीको पहिचान बनाएका र मउवा संघमा नेतृत्वका लागि केही वर्ष अघि कांग्रेस प्रवेश गरेका राजु अधिकारी वाणिज्यको उपाध्यक्ष उम्मेदवार बनाएर कुखुरा व्यवसायीहरुको मत तान्ने खेलमा छन् । यता, एमाले निकटका व्यवसायीहरु तेजराज अधिकारी कोषाध्यक्ष, दिवस पराजुलीलाई वाणिज्य सचिव, बालकृष्ण बजगाई, कृष्णप्रसाद दहाल, दीपक शिवाकोटी लगायतलाई सदस्यमा उम्मेदवार बनाएर एमाले निकटको मत झार्ने दाउमा देखिन्छन् । उनलाई माओवादी निकट व्यवसायी भनेर चिनिने नेत्रप्रसाद खतिवडाको ठुलो भरोसाले मत ल्याउने आसमा देखिन्छन् ।
यसो हेर्दा अग्रवाल समूहलाई एकाथरि एमाले नेतृत्वको साथ देखिन्छ भने कांग्रेस मकवानपुरको सिंगो टिम उनको साथमा देखिन्छ । यस अघि एशोसियट उपाध्यक्षमा पराजित भएका विष्णु खनाललाई साथ लिएर एशोसियटको मत तान्ने दाउमा अग्रवाल देखिन्छन् । तर बानियाँ कांग्रेसको छाप बोकेका उनलाई सोचेजस्तो सहजता देखिदैन् । यस पटक कांग्रेस मकवानपुरको विवादले मउवा संघमा समेत प्रभाव पार्नु स्वाभाविक देखियो । पत्रकार महासंघको निर्वाचनमा एमाले निकट पत्रकारलाई जिल्ला तहको नेतृत्वमा साथ दिएको कांग्रेसले मउवा संघको निर्वाचनमा अग्रवाललाई नेतृत्वमा ल्याउन आई कांग्रेसले ठुलै राजनीति गरेको पत्रकारहरुकै समूहले कानेखुसी गरेका छन् ।
यस हिसाबमा सरसर्ती हेर्दा यो पटक मउवा संघको निर्वाचनमा पैसावालाहरु कै बाहुल्यता रहेको देखिन्छ । रानाभाटले तामझाम सहितको कार्यक्रम गरेर प्रचार प्रसार गरिरहेका छन् भने अग्रवाल राष्ट्रिय स्तरका गायक बद्री पंगेनी ल्याएर प्रचार गर्न तल्लीन देखिन्छन् । करोडौं खर्च गरेर निर्वाचन प्रक्रियामा होमिएका दुई समूहले अन्तरराष्ट्रिय समन्वय, छवि बनाउन र व्यवसायिक फाइदा लिन यो तामझाम, साम दण्डभेद प्रयोग गर्न पछि परेका छैनन् । कसले कति खर्च गर्ने भन्ने होडबाजीले के मकवानपुरे व्यवसायीहरुको नेतृत्व सवल बन्ला ? यो सोचनीय विषय हो ।