हेटौँडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले आफ्नो उम्मेदवारी घोषणासँगै प्यानलनै सार्वजनिक गर्दै चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मकवानपुरको व्यवसायिक समुदायको प्रतिनिधित्व गर्ने संघको नेतृत्व सम्हाल्न तयार रहेका रानाभाटले आफ्नो अनुभव, योजनाहरू, र संघलाई अझ प्रभावकारी बनाउनका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका योजना र उद्देश्यहरूबारे स्पष्टता दिनका लागि उनी सँग चुनाव लक्षित कुराकानी गरेका छौं । उक्त संक्षिप्त कुराकानीको अशं प्रस्तुत गरेका छौं ।
संघको नेतृत्वको यो महत्त्वपूर्ण दौडमा तपाईंको उम्मेदवारी धेरैका लागि चासोको विषय भएको छ । तपाईंको उम्मेदवारीको प्रमुख उद्देश्य के हो र यस संघलाई तपाईं कसरी बदल्न चाहनुहुन्छ ?
रानाभाट: मकवानपुर उद्योग वाणिज्य संघ केवल एउटा संस्था नभएर यस क्षेत्रका व्यवसायीहरूको आवाज हो । मेरो प्रमुख उद्देश्य भनेको यस संघलाई एकीकृत बनाउँदै व्यवसायीहरूको समस्याको समाधान गर्ने एउटा बलियो संस्थाको रूपमा स्थापित गर्नु हो । म संघलाई पारदर्शी, उत्तरदायी र व्यवसायीक सहजीकरणमा अगाडि ल्याउन चाहन्छु । यसलाई डिजिटलाइजेसन, समावेशी नीति र सहजीकरणमार्फत प्रभावकारी बनाउने मेरो योजना छ ।
यो डिजिटलाइजेसन र सहजीकरणको कुरा निकै प्रभावकारी लाग्यो । तपाईंको नेतृत्वमा संघलाई कसरी डिजिटल प्रणालीमा लैजाने योजना छ ?
रानाभाट: आजको युगमा डिजिटल प्रणाली अनिवार्य बनिसकेको छ । म संघका सबै सेवा प्रणालीलाई अनलाइन उपलब्ध गराउनेछु । सदस्यता नवीकरणदेखि समस्या दर्ता र समाधान प्रक्रियासम्म सबै कुरा डिजिटल हुनेछ । यसले व्यवसायीहरूले समय र स्रोत बचत गर्न सक्नेछन् । यस्तै, संघको आधिकारिक मोबाइल एप्लिकेशन पनि विकास गर्ने योजना छ, जसले सूचना, तालिमका अवसर र सरकारी नीति परिवर्तनसम्बन्धी खबर तुरुन्तै सदस्यहरूसम्म पु¥याउनेछ ।
मोबाइल एप्लिकेशन र डिजिटल प्रणालीको योजना राम्रो छ । तर ग्रामीण क्षेत्रमा पहुँच नभएका व्यवसायीहरूलाई यो प्रणालीले कसरी फाइदा र्पुयाउँछ ?
रानाभाट: यो विषय मैले पनि सोचेको विषय हो । हामी डिजिटल प्रणालीसँगै ग्रामीण पहुँचका लागि ‘मोबाइल सहजीकरण टोली’ खडा गर्नेछौं । यी टोलीले ग्रामीण व्यवसायीहरूको समस्या सुन्ने, उनीहरूको तर्फबाट दर्ता गर्ने र आवश्यक समाधान ल्याउने काम गर्नेछन् यस्तो समन्वयले ग्रामीण व्यवसायीलाई थप सशक्त बनाउनेछ ।
अब, मकवानपुरका व्यवसायीहरूले भोगिरहेका प्रमुख चुनौतीहरू के छन् र तपाईंको दृष्टिकोणमा तिनीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
रानाभाट: व्यवसायीहरूले अहिले दुई ठूला समस्या सामना गरिरहेका छन् । पहिलो, कर प्रणालीको अनियमितता र दोहोरो करको समस्या, दोस्रो, बैंकिङ प्रणालीमा कडाइ र उच्च ब्याजदर । यी दुवै समस्या समाधानका लागि संघले सरकार र बैंकहरूसँग प्रत्यक्ष समन्वय गर्नेछ । करका सम्बन्धमा संघको एउटा ‘सल्लाहकार मञ्च’ बनाउनेछौं, जसले व्यवसायीहरूलाई कानुनी सहायता प्रदान गर्नेछ । बैंकिङ समस्याको समाधानका लागि सहुलियतपूर्ण कर्जा र ऋण पुर्नसंरचनाको प्रस्ताव सरकार र बैंकहरूमा पेस गर्नेछौं ।
तपाईंले सरकारसँग समन्वयको कुरा गर्नुभयो । तर, के तपाईंको अनुभवले संघलाई यस्तो सरकारी समन्वयमा सक्षम बनाउनेछ ?
रानाभाट: म लामो समयदेखि संघ र विभिन्न वस्तुगत संघका सदस्यको रूपमा सक्रिय छु । सरकार र स्थानीय प्रशासनसँग मेरो अनुभव र समन्वय क्षमताले संघलाई प्रभावकारी रूपमा नेतृत्व गर्न सक्षम बनाउँछ । यसअघि, मैले करसम्बन्धी धेरै समस्या समाधान गर्न पहल गरेको छु । त्यही अनुभवलाई म अध्यक्षको भूमिकामा उपयोग गर्न चाहन्छु ।
तपाईंको अनुभवबारे चर्चा गर्दा, तपाईंको योग्यता र पृष्ठभूमि व्यवसायीक नेतृत्वका लागि कस्तो रहेको छ ?
रानाभाट: मैले व्यवसायीक क्षेत्रमा १५ वर्षभन्दा बढी समय बिताएको छु । मेरो व्यवसायिक करियरमा मैले साना व्यवसायहरूबाट सुरु गर्दै औद्योगिक क्षेत्रमा पनि काम गरेको छु । यसबाहेक, म संघका विभिन्न समितिहरूको सदस्य भएर नीति निर्माण प्रक्रियामा सहभागी भएको छु । यी सबै अनुभवहरूले संघलाई अग्रगामी बनाउन मेरो नेतृत्वलाई मजबुत बनाउँछ ।
तपाईंको नेतृत्वले अन्य प्रतिस्पर्धीहरूसँग तुलना गर्दा के फरक ल्याउन सक्छ ?
रानाभाट: मेरो नेतृत्व समावेशी र नतिजा-केन्द्रित हुनेछ । म केवल समस्याहरूको पहिचानमात्र होइन, तिनको समाधानमा तत्काल कदम चाल्न चाहन्छु । मेरो फरक क्षमतामा व्यवसायीहरूको आवाजलाई प्राथमिकता दिनसक्ने सामथ्र्य र पारदर्शिता ल्याउने प्रतिवद्धता समावेश छ ।
अब तपाईंको टीमबारे कुरा गरौं । तपाईंले आफ्नो टीम पनि सार्वजनिक गर्नुभएको छ । यो टीमको सामूहिक बल र योगदान के हो ?
रानाभाट: मेरो टीम व्यवसायका विभिन्न क्षेत्रबाट आएका योग्य र अनुभवी सदस्यहरूको संयोजन हो । कोषाध्यक्ष, महासचिव, उपाध्यक्षजस्ता हरेक सदस्यको भूमिका स्पष्ट छ । हाम्रा सदस्यहरूको अनुभव र उत्साहले हामीलाई संघको लक्ष्य प्राप्त गर्न बलियो बनाउनेछ । विशेष गरी, महिलाको सहभागिता र युवा सदस्यहरूको उत्साह हाम्रो टिमको प्रमुख बल हो ।
तपाईंको टीमले महिलाको सहभागितालाई प्राथमिकता दिएको देखिन्छ । महिलाहरूको भूमिकालाई संघमा कसरी सशक्त बनाउने योजना छ ?
रानाभाट: महिला व्यवसायीहरूको सीप विकास र उनीहरूको पहिचानलाई बलियो बनाउन ‘महिला उद्यमशीलता कोष’ स्थापना गर्ने योजना छ । यसबाट महिलाहरूलाई वित्तीय सहयोग, तालिम र बजार पहुँच दिलाउनेछौं । साथै, महिलाहरूको समस्या सुनाउने ‘महिला समन्वय समिति’ पनि बनाउनेछौं।”
अन्त्यमा, मकवानपुरका व्यवसायीहरू समक्ष तपाईंको केही सन्देश छ ?
रानाभाट: मकवानपुरलाई आर्थिक रूपमा बलियो बनाउनु हाम्रो सबैको साझा लक्ष्य हो । म, मेरो टिम र मेरो योजनाले व्यवसायीक विकासका लागि प्रतिवद्ध छौं । यो संघ व्यवसायीहरूको मात्र होइन, सम्पूर्ण मकवानपुरको भविष्य हो । त्यसैले, मलाई र मेरो टिमलाई मतदान गरेर हाम्रो योजनालाई कार्यान्वयन गर्ने मौका दिनुहोस् म तपाईंहरूको विश्वासलाई कहिल्यै तोड्नेछैन ।