हेटौंडा \ बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताउनुभयो ।
उद्योग सञ्चालन गर्न बनेका कानून, ऐनले असहज परिस्थिती निम्ताएको बेला उद्योग क्षेत्रका ऐन, कानून संशोधन गरि अघि बढ्नुपर्ने भएपनि आफु तयार रहेको उहाँले बताउनुभयो । उद्योग सञ्चालन गर्न सहज छ तर कानूनी प्रक्रिया झंझटिलो रहेको अवस्था छ, त्यसलाई निराकरण गर्न सरकारले सुधार गर्नुपर्ने के छ त्यो पनि सुधार गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उद्योगी व्यवसायीबीच एकतावद्ध भयो भने नागरिकले मात्रै होईन सरकारले पनि साथ दिनेछ त्यसका लागि सबै क्षेत्रका व्यवसायीहरु एकजुट हुन आग्रह गर्नुभयो । अर्काले उत्पादन गरेको चिजलाई मात्र नभई आफुले पनि नयाँ नयाँ प्रविधिसँग जोडेर उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने जनाउनुभयो ।
हामीले प्राप्त गर्ने स्रोत धेरै छ तर सदुपयोग गर्न सकेनौं, मुख्यमन्त्री लामाले भन्नुभयो । उद्योगमैत्री र प्रविधिमैत्री रुपमा उद्योग सञ्चालन गरी अघि बढ्न सबै व्यवसायीलाई भन्नुभयो । उहाँले राज्य भ्रष्टचारले गलिरहेको अवस्थामा अब यसको नियन्त्रण गर्नलाई सम्पति विवरणको अद्यावधिक गर्नुपर्छ र कर तिरेको छ या छैन हेर्न सकियो भने विस्तारै कम हुँदै जाने बताउनुभयो ।
सभामा एमाले प्रमुख सचेतक एंव प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्र रहेकाले यसलाई थप व्यवस्थित गरि लैजानुपर्ने बताउनुभयो । कतिपय उद्योग बन्द भएको अवस्थामा र सरकारी स्वामीत्व रहेको हेटौंडा सिमेन्टलाई थप व्यवस्थित गरि लान नकसेका राज्यलाई घाटा हुने बताउनुभयो । ३२ रोपनी जग्गामा औद्योगिक क्षेत्र छ, मयुरधापलाई पनि २०७२ मा औद्योगिक क्षेत्र घोषित गरियो तर सञ्चालन गर्न सकिएन, बर्तौलाले भन्नुभयो । मध्यवर्ती क्षेत्रभित्र पर्न गएकाले वनपैदावरको ज्याजतीका कारण उद्योगहरु सञ्चालन गर्ननसकेको बताउनुभयो ।
त्यस्तै, संघीय सभाका भौतिक पूर्वाधार विकास समितिका सभापति एंव प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले आफ्नो बुबाको पालादेखी हेटौंडामा व्यवसाय गर्नुका साथै उद्योगहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय हेटौंडामा धेरै उद्योगहरु बन्द भए तर राज्यको ध्यान त्यसतर्फ नजानुका साथै उद्योग व्यवसायी मैत्री कानून, ऐन नहुँनाले यस्तो सिर्जना भएको बताउनुभयो । संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको सभामा पूर्वमन्त्री एंव संघीय सांसद राजन केसी, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, संघीय सदस्य विन्दवासिनी कंसाकार, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, भारती पाठक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
सभामा विभिन्न विधामा उद्योगी, व्यवसायी, कर्मचारी र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सभामा महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, संघका पूर्व अध्यक्षहरु, उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, लगायत विभिन्न राजनीतिक दलका अध्यक्षहरु, जनप्रतिनिधिहरु, संघका सल्लाहकारहरुलगायतको उपस्थिती रहेको थियो ।