हेटौंडा \ बागमती प्रदेशको तथ्याङ मध्ये मकवानपुरमा आत्महत्याको घटना १४ प्रतिशत रहेको पाइएको छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक दीपक रेग्मीले मकवानपुरमा आत्महत्या १४ प्रतिशत भएको बताएका छन् ।
स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा रेग्मीले तथ्याङगत विवरण पेश गर्दै आव २०७६/७७ मा विष खाएर ६० जना, झुण्डीएर ८६ जना, आव २०७७/७८ मा विष खाएर ४८ जना, भुण्डीएर ९२ जना र पानीमा हामफालेर १ जनाले आत्महत्या गरेको बताए । उनले २०७८/७९ मा भने विष खाएर ३२ जना, भुण्डीएर ९० जना र पानीमा हामफालेर २ जना रहेको बताए ।
उनले मानसिक रोग र दीर्घरोग, एक्कासी पर्ने तनाव, चरम निराशा, गरिबी, कष्टदायिक पारिवारिक जीवन, अवैध गर्भ, पारिवारिक बिमेल, घरेलु हिंसा, दाइजो प्रथा, प्रेममा धोका, परिवारबाट तिरस्कृत, असफलता जस्ता विभिन्न कारणले मानिसहरु आत्महत्या गर्ने गरेको पाइएको बताए ।
स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बागमती प्रदेश महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्ट लगायत कोसिस संस्थाका थमकुमारी कुँवर, स्वास्थ्य मन्त्रालयका डा. रविन भुषाल, स्वास्थ्य निर्देशनालयका पदमराज कैनी, प्रहरी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।