हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा आगामी माघ १२ गते शनिबार सोनाम ल्होछार पर्व मनाईने भएको छ । नेपाल तामाङ्ग घेदुङ गाउँपालिका कार्यसमितिको आयोजनामा राष्ट्रिय कलाकारको साथमा ल्होछार पर्व मनाईने समितिका अध्यक्ष सानोकान्छा थिङले बताए ।
विहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराइएको थियो । तामाङ समूदायले मान्ने सोनाम ल्होछार माघ १७ गते परेको ल्होछार पर्वको अवसरमा हामीले १२ गते कला संस्कृतिलाई जोड दिनकै लागि पर्व मनाउन लागेको अध्यक्ष थिङले बताए । नयाँ वर्ष २८६१ सर्प अर्थात डुल÷सा पुख्री पर्न गएको बताउँदै अध्यक्ष थिङले तामाङ भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु प्रकाश तितुङ, रेश्मा भोम्जन,फूलकुमार भोम्जन, एलिना रायमाझी सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा ६ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । कार्यक्रममा गायन र नृत्यहरुको प्रस्तुती, तामाङ ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा गाउँ कार्यसमितिका सल्लाहकार राजकुमार गोले, जिल्ला कार्यसमिकिा सदस्य आकाश गोले, गाउँ कार्यसमितिका उपाध्यक्ष विक्रम योन्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।