हेटौंडा \ बागमती प्रदेशको राजधानी हेटौंडामा दोस्रो वडा खेलकुद महोत्सव हुने भएको छ । हेटौंडा वडा नम्बर ४ को आयोजना र शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा महोत्सवको आयोजना गरिन लागिएको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै खेलकुद महोत्सव बारे जानकारी दिइएको थियो । महोत्सव अवधि भरि २१ विधामा खेलकुद प्रतियोगिता सञ्चालन हुने वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बताए । यो खेलकुद महोत्सव हो, यहाँ वडा, नगर र जिल्ला स्तरीय विभिन्न विधामा खेलकुद प्रतियोगिता हुन्छ, वडाध्यक्ष सिग्देलले भने । शिक्षक र विद्यार्थीलाई खेलकुदमा ल्याउने लक्ष्यका साथ कार्यक्रमको तयारीमा हामी रहेको उनले बताए ।
४ वटा नगर स्तरीय र २ वटा जिल्ला स्तरीय सहित बाकीँ अन्य खेलकुद वडा स्तरीय सामूदायिक र संस्थागत विद्यालयबीच रहने उनले बताए । नगर स्तरीय खेलकुदमा टिम दर्ता शुल्क पाँच सय रहेता पनि अन्यको लागि भने दर्ता शुल्क नभएको समेत वडाध्यक्ष सिग्देलले बताए । विद्यालयबाट नै खेलकुदको प्रवद्र्धन गर्न पर्छ भन्ने हेतुले गत वर्ष झैँ अझ परिस्कृतका साथ थप खेलकुदहरुलाई समेट्दै खेलकुद महोत्सवको आयोजना गरिन लागिएको उनको भनाइ रहेको थियो ।
एक महिना सम्म सञ्चालित खेलकुद प्रतियोगितामा माघ ९ गते नवोदय शिशु सदनमामा हाजिरी जवाफ प्रतियोगिता, माघ १३ गते आधुनिक माविमा वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते सत्यम जेभियर्स माविमा वादविवाद प्रतियोगिता हुनेछ । त्यस्तै, माघ १५ गते श्रमिक माविमा नेपाली हिज्जे प्रतियोगिता हुनका साथै सोही दिन शिक्षिकाहरुका लागि स्लो स्कुटी प्रतियोगिता र शिक्षक र विद्यालय कर्मचारीबीच तेस्रो जिल्ला स्तरीय शिक्षक दौड प्रतियोगिता रहेको वडाध्यक्ष सिग्देलले बताए । माघ २४ गते ब्रम्हदिक माविमा कविता प्रतियोगिता हुने उनले बताए ।
त्यस्तै माघ २५ गते भुटनदेवी माविमा निबन्ध लेखन प्रतियोगिता सोही दिन र २६ गते वडा ४ भित्रका शिक्षकह?बीच फाइभ साइड फुटबल प्रतियोगिता हुनेछ । फागुन २ गते देखी विद्यार्थीबीच विभिन्न दौड प्रतियोगिता, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, रिले दौड प्रतियोगिताह? हुनेछ भने फागुन ३ गते आधुनिक माविमा नगर स्तरीय भलिबल प्रतियोगिता, सोही दिन श्रमिक माविमा नगर स्तरीय सेभेन साइड फुटबल प्रतियोगिता हुनुका साथै भुटनदेवी माविमा नगर स्तरीय क्रिकेट प्रतियोगिता समेत हुने वडाध्यक्ष सिग्देलले बताए ।
प्रतियोगिता अन्तरगत महिला शिक्षकलाई फागुन ५ गते सत्यम स्कुलमा टग अफ वार प्रतियोगिता, सोही दिन नवोदय शिशु सदनमा नगर स्तरीय बास्केटबल प्रतियोगिता, र फागुन १६ र १७ गते जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने वडाध्यक्ष सिग्देलले भने । विजेताहरुलाई फागुन ७ प्रजातन्त्र दिवसको दिन प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा वडा सदस्य गीता त्रिपाठी, शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहाल, आधुनिक माध्यामिक विद्यालयका अध्यक्ष महमद समीम खान, खेलकुद शिक्षक राजाराम पोखरेल, वडा कार्यालयका सचिव पुष्पराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।