मकवानपुरगढी \ माघ १० गते अर्थात २६१ वर्ष अघि मुगल सैनिकबाट गोर्खाली माथी गरिएको आक्रमणको पथ प्रदर्शक पराजित सेन राजा दिग्वन्धन सेन थिए। मिरकासिमसँग वार्ता मिलेपछि युद्द गर्न वंगाली सेनाको फौज सहित दिगवन्दन सेन मकवानपुरगढतर्फ लागे ।
राजा दिग्वन्धन सेन चुरियासम्म आएर पछि हटे । चुरिया डाँडा काटेर १८१९ पौष २७ गते मीरकासिमको फौजले हर्नामाडी चौकी आक्रमण गरे । उक्त आक्रमणमा करिब ३ हजार फौजिहरु खटाईएको थियो ।
यसरि आक्रमण गर्न आएको कुरा दहचोक गढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो । त्यसबखत पृथ्वीनारायण शाह कटेरी गैरीगाउँबाट मकवानपुरगढी चढ्नको लागि सजिलो बाटो बनाई रहेका थिए ।
यसैबिच गोर्खाली सेनाहरु गएर मिरकासिमको फौजमाथि ढुङगा मुढा बर्साए । कोहि क्याम्पमै र कोहि भारि बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलर सिंह बस्न्यात, वंश राज पाँडे, जीव शाह, हर्कपन्त, रामकृष्ण, कुँवरको नेतृत्वमा गोर्खालीहरुले शिखरकटेरीमाथिबाट ढुङ्गा मुढा बर्साए ।
युद्द हुँदै जादा वि.स १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिरकासिमका नायव नवाव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका सत्र सय जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो । युद्धबाट गोर्खालीलाई ५ सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीहरुले बिदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्च भएको थियो ।
मुगललाई गोर्खालीहरुबाट पराजित गरेपश्चात राजा पृथ्वी नारायण शाहबाट मकवानपुरगढीमा पहिलो बिजय उत्सव मनाईएको थियो । सोहि दिनमा उक्त ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयाउत्सव मनाउने गरिन्छ ।
आज माघ १० गते त्यहि ऐतिहासिक दिन हो, गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको थियो । सोही अवसरमा मकवानपुरगढी गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरी विजय उत्सव मनाउने भएको छ । आज २६२ औं विजय उत्सव कार्यक्रम हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामाको उपस्थितीमा विजय उत्सव कार्यक्रम गरिन लागिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।