मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा व्यवसायिक तथा प्रविधिमैत्री बेसार खेतीको तालिम सुरु भएको छ । सोमबारबाट सुरु भएको तालिम चारदिन सम्म सञ्चालन हुनेछ ।
बुङ्दल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर अधिकारीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । वन क्षेत्रमा बेसार खेती गर्दै आइरहेको बुङ्दल महिला कृषि आयआर्जन समूहमा आवद्ध सदस्यहरुलाई बेसार खेतीको तालिम प्रदान गरिएको हो । सरकारको प्रविधि प्रणाली अनुरुप बेसार खेती प्रविधिबारे सहजीकरण गरिएको हो ।
तालिमलाई कृषि विषयका सहप्राध्यापक किरण तिमल्सिनाले प्रशिक्षण गरेका हुन् । पहिलो दिन बेसारको परिचय, बेसारखेती लगाउने तरिका, कस्तो हावापानी, वीउ छनौट र उपचार विषयमा सहजीकरण गरेका थिए ।
तालिम अवधिभर बेसार गोडमेल, ग्रेडिङ, बेसार कटिङ, बजारिकरण, वीउ उत्पादन, कम्पोष्ट मल बनाउने तरिका लगायत विषयमा तालिम प्रदान गरिने वन समूहका अध्यक्ष अधिकारीले बताए । तालिममा प्रशिक्षक किरण तिमल्सिना, नरेश आचार्य, वन समूहका सल्लाहकार चन्द्रप्रसाद दुलाल, फेकोफन मकवानपुरका कार्यक्रम संयोजक सन्ध्या शिवाकोटी, आयआर्जन समूहका अध्यक्ष विन्दा लामिछानेलगायतको उपस्थिती रहेको थियो ।