हेटौंडा \ सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत एचपिभी खोप अभियानमा मकवानपुरका बाईस हजार ७ सय १३ किशोरीलाई एचपिभी खोप लगाईने भएको छ । फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाईने उहाँले बताउनुभयो । सरकारबाट नै पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौं, प्रमुख मिजारले भन्नुभयो । स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुरुप खोप डोज माग गरेका छौं, सोही अनुरुप २२ गतेदेखी २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गते सम्ममा खोप अभियान सञ्चालन गर्नेछन्, उहाँले बताउनुभयो ।
मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौंडा उपमहानगरमा रहेका छन्, विद्यालयमा अध्ययनरत एघार हजार ६८ जना र विद्यालय बाहिरका एक सय पाँच जना गरी एघार हजार १ सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । जिल्लाको ईन्द्रसरोवरमा विद्यालयका ४ सय ४८ जना र विद्यालय बाहिरका ३८ जनागरि ४ सय ८६ जना, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ जना र विद्यालय बाहिरका ६१ जनागरि एक हजार ७३ जना, थाहा नगरपालिकामा विद्यालयका एक हजार ८ सय १६ जना र विद्यालय बाहिरका ७३ जनागरि एक हजार ८ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताउनुभयो ।
त्यस्तै, भीमफेदीमा विद्यालयका ८ सय ११ जना र विद्यालय बाहिरका ३३ जनागरि ८ सय ४४ जना, मनहरीमा विद्यालयका २२ सय जना र विद्यालय बाहिरका ६२ जनागरि दुई हजार २ सय ६२ जना, राक्सिराङमा विद्यालयका ७ सय ७९ जना र विद्यालय बाहिरका १९ जनागरि ७ सय ९८ जना, कैलाशमा विद्यालयका ९सय २२ जना र विद्यालय बाहिरका ७९ जनागरि एक हजार एक जनालाई खोप लगाइने उहाँले बताउनुभयो ।
यसैगरी बागमतीमा विद्यालयका एक हजार तीनसय ७ जना र विद्यालय बाहिरका ३२ जनागरि एक हजार तीन सय ३९ जना र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ जना र विद्यालय बाहिरका १ सय ५२ जनागरि एक हजार ८ सय ४८ जना किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताउनुभयो ।
जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामूदायिक स्वास्थ्य स्वंम सेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौं, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौं, प्रमुख मिजारले भन्नुभयो ।
हामीले सिकोलिन नामक खोप लगाउने हौं, स्वास्थ्यकर्मीबाट ०.५ मिलि खोप मासुमा लगाउने उहाँको भनाइरहेको छ । यो खोप सरकारले आव ०८२/०८३ देखी नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ सोही अनुरुप आगामी दिनमा १४ वर्ष माथीका उमेरसमूहलाई पनि यो खोप आउने उहाँले बताउनुभयो । बागमती प्रदेशमा भने दुई लाख १८ हजार ५ सय ५९ जनालाई खोप लगाइने छ ।