कैलाश / मकवानपुरको विकट कैलाश गाउँपालिकाले बाल बिवाह न्युनीरकणका लागि बिगतका वर्षदेखि नै सुरु गरेको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । कम्तिमा दस जोड दुई पास गरी २० वर्ष उमेर पार भएपछि मात्र बिवाह गर्ने चेलीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो । मंगलबार गाउँपालिकाको १५ ओैँ हिउँदे अधिवेशनका अवसरमा ९ जना चेलीलाई नगदसहित सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठलगायतले प्रति व्यक्ति २० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
सम्मानित हुनेहरुमा अम्बिका अर्याल, अनिता रुम्बा, कैलाश ९ कि कल्पनामाया घलान, कैलाश ९ कि सविना रुम्बा, वडा नम्बर ६ कि हिरा मुक्तान, वडा नम्बर ९ कि देवकी वर्तौला, वडा नम्बर १० कि लक्ष्मी ब्लोन, वडा नम्बर शान्ति तितुङ र वडा नम्बर १० कि अबिगेल प्रजा रहेका छन् । गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए ।
उनले देशभरका स्थानीय तहहरुमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताए । गाउँघरमा छोरीलाई वालविवाह गर्ने, पकीईबाट बञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । उनले २० बर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।
त्यस्तै, सभामा पालिकाले विभिन्न विधामा व्यक्ति तथा संस्थाहरु सम्मान गरेको छ । सञ्चारकर्मीतर्फ पोष्टराज अधिकारी, पूर्व शिक्षकतर्फ ढोडाई चौधरी र तारणीप्रसाद चौधरी, सहजकर्तातर्फ पार्वती खतिवडा, शिक्षकतर्फ शान्ति खतिवडा र अर्जुनप्रसाद लामिछाने, विद्यार्थीतर्फ कृष्टिना बानियाँ, हरिओम बर्तौला र विवस अर्याल, प्रधानाध्यापकतर्फ लक्ष्मीदेव घिसिङलाई सम्मान गरिएको थियो ।
यसैगरी कृषकतर्फ श्यामबहादुर गोले, मेड्पा उद्यमीतर्फ कुमारीमाया मुक्तान, कार्यालय सहयोगीतर्फ रामप्रसाद प्रजा, सामाजिक परिचालकतर्फ राजेन्द्र थिङ, सिनियर अनमीतर्फ तारा थापा, सिनियर अहेवतर्फ सुधिरकुमार कुशवाहा, प्राविधिक सहायकतर्फ दीपेन्द्र अधिकारी, निर्माण व्यवसायीतर्फ आयूश्री विल्र्डसका चेतबहादुर थापा, उपभोक्ता समिति अध्यक्षतर्फ हरिदास रिजाललाई सम्मान गरिएको थियो ।