हेटौडा \ बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले निस्वार्थ र कर्मशील बनी देश विकासमा अग्रसर हुन आग्रह गर्नुभएको छ । सहिद दिवस २०८१ को अवसरमा बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद स्मारक हेटौँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सहीदहरूको त्यागलाई सहिद सप्ताह र दिवसमा मात्रै बिचार प्रवाह नगरी सत्कर्मको मार्गमा अघि बढेर समृद्धिको ढोका उघार्नुपर्नेमा उहाँको जोड रहेको छ । उहाँले स्वेच्छाचारिता र निरङ्कुशताका विरुद्ध आफ्नो ज्यानको पर्बाह नगरी आवाज उठाउने अनि विद्रोहका कदम चाल्ने ती महान् सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नु भएको छ ।
राष्ट्र र जनताका पहरेदार अमर सहिदहरूले पहाडजस्तो गह्रुङ्गो मृत्युवरण गरेको परिणाम स्वरूप निरंकुशताको गद्दी हल्लिन गै प्रजातन्त्र, लोकतन्त्र हुँदै हाम्रो देश गणतन्त्रात्मक शासन व्यवस्थामा पुगेको बत्ताउनुहुँदै हामी मानव इतिहासकै अधिकतम स्वतन्त्रताको युगमा आएको बताउनुभयो । हामीले आजभन्दा पहिला कहिल्यै नपाएको मौलिक र मानव अधिकारको उपभोग गर्न पाएका छौँ, यो सबै तिनै महान् निडर सहिदहरूको योगदानको प्रतिफल हो उहाँले भन्नुभयो ।
सहिदहरूको सम्मानमा निर्मित यो स्मारकले हामीलाई इतिहासका क्रूर कालखण्ड र सहिदहरूको बलिदानी को तस्बिरलाई पुर्न ताजगी गराएको बताउँदै वीर सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत ज्ञात अज्ञात महामानवप्रति अपार श्रद्धाभाव प्रकट गर्नुभयो । सहिद दिवसको यो अवसरले हामी सबैलाई एकजुट भएर समृद्ध नेपाल निर्माण अभियानमा अघि बढ्न प्रेरणा प्रदान गर्ने समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा,सभामुख भुवन कुमार पाठक,प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने लगायत प्रदेशका मन्त्रीहरू,विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियोे ।