हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल(म्यान) मकवानपुरको नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी ह्वातै बढेको छ । १९ गते शनिबार हुने एशोसिएससनको १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेसनले नयाँ नेतृत्व पाउनेछ ।
नेतृत्वका लागि हरिप्रसाद न्यौपाने(सागर) र रोहिणीप्रसाद गौतम(गोपाल)ले चुनावी चहलपहललाई व्यापकता बनाएका छन् । दुबै जना अध्यक्षका प्रत्यासी हुन् । न्यौपाने हाल वरिष्ठ उपाध्यक्ष हुन् भने गौतम उपाध्यक्ष छन् । प्यानल नै तय नभएपनि दुवै जना अध्यक्षका लागि सदस्यहरुसँगको भेटघाटलाई बाक्लो बनाउँदै मत मागिरहेका छन् ।
म्यान मकवानपुरमा थाहानगर क्षेत्रका १३ जना, मनहरी क्षेत्रका १८ जना र हेटौंडाका १०३ जना गरि १३४ जना सदस्य आवद्ध रहेको म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए । मोवाईल व्यवसायी त धेरै छन् तर एशोसिएसनमा आवद्ध सदस्यले मात्रै मतदान र उम्मेदवार दिन पाउनेछन्, अध्यक्ष चौलागाईले भने ।
उम्मेदवार मनोनयन आज
निर्वाचन आयुक्त दिनेश लामाका अनुसार १४ गते मतदाता नामावली प्रकाशन गरिसकेको, १५ गते प्रतिनिधि परिवर्तनको लागि निवेदन दिने कार्यक्रम समेत भइसकेको बताए । त्यस्तै, १६ गते मतदाता नामावली उपर दावी विरोध र अन्तिम नामावली समेत प्रकाशन गरिसकेको लामाले बताए ।
शनिबार हुने निर्वाचनका लागि आज विहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्नेछन् । १० बजे देखी १ बजे सम्म उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने समय रहेको लामाले बताए । आजै उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको दावी विरोध, उजुरी परेको खण्डमा छानविन , उम्मेदवारी फिर्ता लिने समय र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनुका साथै निर्वाचन सम्बन्धी निर्देशिका प्रकाशन गर्छौ, आयुक्त लामाले भने ।
१९ गते शनिबार वार्षिक साधारण सभा सकिए पश्चात निर्वाचन कार्यक्रम सुरु रहने लामाले बताए । मतदान कार्यक्रम सकिए लगत्तै मत गणना हुने र निर्वाचन आयुक्तले विजयीको घोषणा गरि निर्वाचन कार्यक्रम अन्त्य गरिनेछ ।
निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष चयन हुनेछन् भने ६ जना निर्वाचित सदस्य र २ जना मनोनित सदस्य गरि १५ जनाको सिंगो कार्यसमिति चयन हुने आयुक्त लामाले बताए ।