हेटौंडा \ मोवाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको आसन्न निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ । विहीबार भएको उम्मेदवारी मनोनयन दर्तामा दुईदुई जना प्रतिस्पर्धी भएपछि अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै मतदान हुने निर्वाचन आयुक्त दिनेश लामाले बताए ।
अध्यक्ष पदमा हरिप्रसाद न्यौपाने(सागर) र रोहिणीप्रसाद गौतम(गोपाल)ले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने हाल वरिष्ठ उपाध्यक्ष हुन् भने गौतम उपाध्यक्ष छन् । त्यस्तै उपाध्यक्ष पदमा भने अनिल दास बानियाँ र शिवप्रसाद बास्तोलाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार हुने १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेसनमा यी दुई पदका लागि मतदान हुने भएको हो । मनोनयन दर्ता सँगै अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा राजकुमार दहाल, महासचिवमा मिलन स्याङ्तान, कोषाध्यक्षमा प्रवेश चापागाई, सहकोषाध्यक्षमा पुष्पराज गौतम, सचिवमा सुमन रायमाझी चयन भएका छन् ।
६ सदस्यका लागि ६ जनाको मात्रै उम्मेदवार परेको छ । जसमा एदिस रिजाल, जीवनाथ अधिकारी, पप्पु कुमार केसरी, सन्तोष दाहाल, अदाम हुसेन मंसुरी र निरोज रिमाल निर्विरोध निर्वाचित भएको आयुक्त लामाले बताए ।
म्यान मकवानपुरमा थाहानगर क्षेत्रका १३ जना, मनहरी क्षेत्रका १८ जना र हेटौंडाका एक सय ३ जना गरि एक सय ३४ जना सदस्य आवद्ध रहेको म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईले बताए । मोवाईल व्यवसायी त धेरै छन् तर एशोसिएसनमा आवद्ध सदस्यले मात्रै मतदान गर्न पाउनेछन्, अध्यक्ष चौलागाईले भने ।