हेटौंडा \ मकवानपुरमा जलचर प्राणी संरक्षण तथा संवद्र्धन समिति गठन भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो उद्देश्य र योजनाबारे जानकारी दिएको छ ।
समितिको संयोजकमा विनोद महत, सचिव नवराज खतिवडा, कोषाध्यक्ष गोकर्ण सुवेदी सदस्यहरु कपिल खड्का, गणेशकुमार खड्के, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ अधिकारी र भीमसेन खड्का रहेका छन् ।अभियानको संरक्षकमा भीमसेन महत तथा सल्लाहकारमा नरहरि महत रहेका छन् ।
समितिले योजनाबद्धरुपमा विज्ञसँग सल्लाह र सहकार्य गरेर काम गर्ने बताइएको छ । समितिका संरक्षक भीमसेन महतले नदीनाला, खोल्साखोल्सी लगायतका पानीका स्रोतहरु रहेको स्थानमा पुरानै अवस्थामा फकाई वातावरणीय सन्तुलन कायम गर्न, पानीको शुद्धिकरण मार्फत मानव स्वास्थ्य बनाउनको लागि जलचर प्राणीहरुको संरक्षण र संवद्र्धन गर्ने अभियान सुरु गरेको बताए ।
माछा मार्ने कार्य ठेक्का लगाउन बन्द गर्नुपर्ने, विष वा करेन्ट प्रयोग गरी माछा मार्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने नदी नालामा फोहोर फाल्ने वा सेफ्टी ट्यांकी मिसाउनेलाई समेत कारवाही गर्नुपर्ने अभियान चलाइने महतले बताए ।
हाम्रो पहिलो अभियान भनेको सचेतना गर्ने हो त्यसपछि चेतनाको विकास गर्दै जल जमिन र प्राणीको अध्ययन अनुसन्धान गरिने संरक्षक महतले बताए । सोही अभियानलाई मकवानपुरका सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउनुका साथै प्रहरी र प्रशासनलाई पनि झकझक्याउने महतको भनाइ रहेको छ ।