हेटाैंडा \ देशभरका सातै प्रदेशका करिब ५० जिल्लाका करिब २५० जना नवसर्जक अग्रज साहित्यकार एबम् कलाकारको सहभागितामा हेटाैंडामा दाेस्राे राष्ट्रिय नवसर्जक उत्सव हुने भएकाे छ । नवसर्जक साहित्य चाैतारी नेपाल केन्द्रीय समिति हेटाैंडाकाे आयाेजनामा फागुन ९ र १० गते हेटाैंडाकाे भुटनदेवी माविमा उत्सव हुन लागेकाे हाे ।
बागमती प्रदेशको राजधानी हेटौंडालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने वातावरण तयार पार्ने तथा राष्ट्रिय स्तरका साहित्यकारहरूको जमघट गराई नवसर्जकहरू उत्पादन गर्ने तथा पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ उत्सव गर्न लागिएकाे साेमबार पत्रकार सम्मेलनमार्फत नव सर्जक साहित्य चाैतारीका संस्थापक एवम् संरक्षक दीपक गाैतमले जानकारी दिए ।
करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकाे कार्यक्रमकाे खर्च व्यवस्थापन हेटाैंडा उपमहानरपालिका कार्यालय, हेटाैंडा-४ नम्बर वडा कार्यालय र भुटनदेवी माविले गर्नेछ । उत्सवकाे पहिलाे दिन फागुन ९ गते शुक्रबार सिर्जनात्मक लेखन कार्यशाला रहनेछ । जसमा मुक्तक, गजल, लोक लयका कविता, गद्य कविता, कथा, नाटक, यात्रा संस्मरण र चित्रकला गरी विभिन्न ८ विधाको कार्यशाला हुनेछ ।
उत्सवकाे दाेस्राे दिन २०८१ फागुन १० गते नवप्रतिभा विकासमा विद्यालय र स्थानीय सरकारकाे भूमिकाबारे सहिद स्मारक हेटाैंडामा बहस गरिने संरक्षक गाैतमले बताए । साेही दिन स्मारिका विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम राखिएकाे छ भने देशभरबाट छानिएका उत्कृष्ट ७ प्रतियोगी गजल वाचनसमेत हुनेछ ।
यस्तै नवसर्जकको मुक्तक वाचन, सामूहिक नृत्य ७ प्रदेशका ७ प्रतिभाका रचना वाचन र अग्रज स्रष्टाकाे रचना वाचन पनि राखिएकाे छ । नव सर्जक साहित्यिक चाैतारी देशभरका २५ वर्षमुनिका बालबालिका, किशोरकिशोरी एवम् युवा नवसर्जकको कला, साहित्य, सङ्गीत क्षेत्रको प्रतिभा प्रस्फुटनका लागि २०७७ देखि निरन्तर क्रियाशील रहेकाे छ ।
पत्रकार सम्मेलनमा हेटाैंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, पुरस्कार संस्थापक रमेशमाेहन अधिकारी, अर्चना दाहाल, विष्णु न्याैपाने, चाैतारीकी उपाध्यक्ष कृतिका लाैडारीलगायतकाे सहभागिता रहेकाे थियाे ।