हेटौंडा \ सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तरगत एचपिभी खोप अभियानमा मकवानपुरका बाईस हजार ७ सय १३ किशोरीलाई एचपिभी खोप लगाईने भएको छ । आज मंगलबार फेब्रुअरी ४ मा मनाईने विश्व क्यान्सर दिवसको अवसर पारेर पाठेघरको मुखको क्यान्सर विरुद्ध (एचपिभी खोप) लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो ।
आज एक विशेष कार्यक्रम आयोजना गरि अभियानको सुरुवात गरिने उहाँले जनाउनुभयो । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाईने उहाँले बताउनुभयो । सरकारबाट नै पहिलो चरणमा अभियान अन्तरगत कक्षा ६ देखी १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौं, प्रमुख मिजारले भन्नुभयो । स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुरुप खोप डोज माग गरेका छौं, सोही अनुरुप २२ गतेदेखी २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गते सम्ममा खोप अभियान सञ्चालन गर्नेछन्, उहाँले बताउनुभयो ।
मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौंडा उपमहानगरमा रहेका छन्, विद्यालयमा अध्ययनरत एघार हजार ६८ जना र विद्यालय बाहिरका एक सय पाँच जना गरी एघार हजार १ सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताउनुभयो । जिल्लाको ईन्द्रसरोवरमा विद्यालयका ४ सय ४८ जना र विद्यालय बाहिरका ३८ जनागरि ४ सय ८६ जना, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ जना र विद्यालय बाहिरका ६१ जनागरि एक हजार ७३ जना, थाहा नगरपालिकामा विद्यालयका एक हजार ८ सय १६ जना र विद्यालय बाहिरका ७३ जनागरि एक हजार ८ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताउनुभयो ।
त्यस्तै, भीमफेदीमा विद्यालयका ८ सय ११ जना र विद्यालय बाहिरका ३३ जनागरि ८ सय ४४ जना, मनहरीमा विद्यालयका २२ सय जना र विद्यालय बाहिरका ६२ जनागरि दुई हजार २ सय ६२ जना, राक्सिराङमा विद्यालयका ७ सय ७९ जना र विद्यालय बाहिरका १९ जनागरि ७ सय ९८ जना, कैलाशमा विद्यालयका ९सय २२ जना र विद्यालय बाहिरका ७९ जनागरि एक हजार एक जनालाई खोप लगाइने उहाँले बताउनुभयो ।
यसैगरी बागमतीमा विद्यालयका एक हजार तीनसय ७ जना र विद्यालय बाहिरका ३२ जनागरि एक हजार तीन सय ३९ जना र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ जना र विद्यालय बाहिरका १ सय ५२ जनागरि एक हजार ८ सय ४८ जना किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताउनुभयो ।
जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामूदायिक स्वास्थ्य स्वंम सेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरे सँगै आजबाट खोप अभियान सुरु गर्नेछौं जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरे भन्नुभयो ।
हामीले सिकोलिन नामक खोप लगाउने हौं, स्वास्थ्यकर्मीबाट ०.५ मिलि खोप मासुमा लगाउने उहाँको भनाइरहेको छ । यो खोप सरकारले आव ०८२÷०८३ देखी नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ सोही अनुरुप आगामी दिनमा १४ वर्ष माथीका उमेरसमूहलाई पनि यो खोप आउने उहाँले बताउनुभयो । बागमती प्रदेशमा भने दुई लाख १८ हजार ५ सय ५९ जनालाई खोप लगाइने घिमिरेले बताउनुभयो ।