हेटौडा / हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक सरदर ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको जनाएको छ । उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगर बासीहरूमा २८ हजार १ सय १२ वटा धाराहरू मार्फत ८ देखि ९ घण्टा पानी वितरण गर्दै आइरहेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो । हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको छ । बोर्डमा हालसम्म १६ वटा खानेपानी उपभोक्ता समितिहरू हस्तान्तरण भइसकेको छन् । नगर क्षेत्र भित्रको वडा नं. ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिहरूबाट खानेपानी वितरण कार्य हुँदै आइरहेको छ ।
हेटौँडा उपमहानगरपालिकाले नगरबासीहरुलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भाद्र महिना देखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । जसको कारणले १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ताहरू लाभान्वित भएका छन् । बोर्डले आफनै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्यूवेल निर्माण कार्य सम्पन्न गरेको छ ।
मकवानपुर गढी गाउँपालिकामा ३ वटा, भिमफेदी गाउँपालिकामा २ र हेटौँडा वडा नम्बर ९ मा एक गरी ६ थान समवेत निर्माण कार्य आफनै स्रोत मार्फत सम्पन्न गरेको छ । विभिन्न१२ स्थानहरूमा पम्प तथा पाले घर निर्माण कार्य सम्पन्न गरेको अध्यक्ष विष्टले बताउनुभयो । बोर्डले करिब ४ सय किलो मिटर मेन तथा शाखा पाइप लाइन विस्तार कार्य सम्पन्न गरेको छ । सङ्घीय सरकार खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सह लगानीमा
करिब १५ करोडको लागतमा ओभर हेड पानी टङ्की एउटा, भूमिगत पानी टङ्की तिन वटा, डिप बोरिङ ४ वटा, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताउनुभयो । सङ्घीय सरकारको करिब ८ करोडको लगानीमा हेटौँडा वडा नं १९ बस्तीपुरमा डिप बोरिङ, ओभर हेड पानी टङ्की, कार्यालय भवन तथा पाले घर निर्माण, मेन तथा शाखा पाइप लाइन विस्तार र विद्युतिकरणको कार्य अन्तर्गत अपुरो रहेको योजना सम्पन्न गर्न बोर्डबाट करिब ३ करोड रुपैयाँ लगानी गरी योजना निर्माण कार्य सम्पन्न पश्चात् उक्त क्षेत्रमा सेवा सुचारु गरिएको छ ।
बागमती प्रदेश सरकार सँगको सह लगानीमा हेटौँडा १९ बस्तीपुरमा समवेत निर्माण, हेटौँडा १६ मा डिप ट्यूवेल, त्रिशूलेमा ५ लाख लिटर क्षमताको भूमिगत पानी टङ्की निर्माण कार्य र करिब २० कि.मि. मेन तथा शाखा पाइप लाइन बिस्तार कार्य सम्पन्न गरिएको छ । हाल सम्म बोर्डमा हेटौँडाका वडा नम्बर ३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिहरूबाट खानेपानीको पूर्वाधारहरू सहित ९ हजार ५ सय धाराहरू हस्तान्तरण भई आएको छ ।