आज शुक्रबारबाट एकसाथ तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ ।फ्राईडे रिलिजको परम्परा धान्दै आएका यी तीनवाटै चलचित्र देशभर एक अर्काेसँग व्यावसायिक प्रतिस्पर्धामा उत्रिएको हो । ‘ममी’ समर निरौलाले निर्देशन गरेका हुन्, भने ‘सारंग’का निर्देशक प्रशान्त तामाङ रहेका छन् । ‘जुनाः एक व्यथा’ जीवन सेञ्चुरी निर्देशित चलचित्र हो ।
तीनै चलचित्रको कथावस्तु भने फरक फरक छन् । तीनै चलचित्रको निर्माण पक्षले आ–आफ्नो चलचित्र राम्रो भएको दाबी गर्दै आएका छन् ।
‘जुनाः एक व्यथा’
‘जुनाः एक व्यथा’ बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथामा बनेको चलचित्र हो । विवाह गरेर गएपछि श्रीमान्ले दिने यातना, सासूको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, अनिता बस्नेतलगायतको अभिनय छ ।

गोदावरी चलचित्र प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले चलचित्र निर्माण गरेको बताउँछन् । उनी भन्छन्, ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई चलचित्रले अन्त्य गर्छ ।’
पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको चलचित्र बीबी अनुरागी र रमेश सेञ्चुरीको सङ्गीत, रामेश्वर हुमागाईँको डिओपी छ । चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले मिलेर गरेको हो ।
‘सारंग’
‘सारंग’ बाल मनोविज्ञान, बाल अधिकार, धनी–गरिब परिवारबीचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको चलचित्र हो । चलचित्रले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने समस्या समेत देखाउँछ ।

चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् र आदित्यको समेत अभिनय छ ।
चलचित्रको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । चलचित्रमा शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत, सुष्मा राईको कोरियोग्राफी छ । चलचित्रलाई देशभर स्टेशन ५ ले वितरण गरेको हो ।
‘ममी’
‘ममी हरर फ्यामिली ड्रामा निर्माण भएको चलचित्र हो । चलचित्रमा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ । चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । चलचित्रका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो ।