नेपाली चलचित्र प्रेमगीत ३ ले अहिले नेपालमा मात्र नभई भारतका विभिन्न शहरहरुमा चर्चा कमाइरहेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र यतीखेर चलचित्रका निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त रहेका छन् । दुई समूहका विभाजन गरी नेपाल र भारतमा प्रचारप्रसार गरी रहेका छन् ।
निर्देशक एंव निर्माता सन्तोष, नायक प्रदीप खड्का सहितको टोली भारतका विभिन्न शहरहरुमा प्रचारप्रसारमा व्यस्त छन् भने नेपालमा कलाकार सुनील थापा(राते काइला)को नेतृत्वको टोली नेपालका विभिन्न शहरहरुमा चलचित्र प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
असोज ७ गते बडा दशैंको अवसरमा नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्माण पक्ष बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल र नेपालीको साझा सम्पतीको रुपमा रहेको चलचित्र प्रेमगीत ३ हेर्न आग्रह गरिएको छ ।
चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले हाम्रो सम्पति मात्र नभइ राष्ट्रकै सम्पतीको रुपमा रहेको बताए । मनाङको सातगाउँको दुई सय वर्ष पुरानो युद्ध र दरवारको कथावस्तुलाई चलचित्रमा उतारिएको बताए । सबै छांयाकन मनाङमा भएपछि दरवारको चाहिँ किर्तिपुरमा निर्माण गरी चलचित्र छायांकन गरिएको चन्दले बताए । उनले हामीले बलिउडमा जानेगरी चलचित्र नबनाएको र कोभिडले गर्दा चलचित्र प्रदर्शन रोकिएको बेला भारतमा गई डबिङ गर्ने प्लान अनुरुप आज यो अवस्था सम्म आइपुगेको उनले बताए ।
हामीले नेपाली तीन करोड हाराहारी लगानीमा निर्माण गरेका हौं अब भारतमा भएको खर्च र प्रचारप्रसारको खर्च गरी कति लगानी पुग्ने भन्ने यकिन नभएको बताउदैं चन्दले नेपाली चलचित्र हेरेर साथ, सहयोग र माया गरिदिन आग्रह गरेका छन् ।
चलचित्रका कलाकार सुनील थापाले चलचित्र प्रेमगीत ३ नेपाल र नेपालीले गर्व गर्नुपर्ने चलचित्र बनेको छ । टिपिकल नेपालका विभिन्न दृश्यलाई समेटिएर तयार भएको चलचित्र नेपाली र हिन्दी भाषामा तयार भएकाले भारतीय र नेपालीहरुले साथ र माया गर्नेमा आफुहरु ढुक्क रहेको बताए । बलिउडमा प्रतिस्पर्धा गर्दैगर्दा नेपाली चलचित्रको इतिहास रच्नेछ । बहुचर्चित बहुबली चलचित्रमा डविङ गर्ने कलाकारले नै चलचित्रको डविङ गरिएकाले झन चलचित्रको हाइट बढेको उनले बताए ।
एकैपटक सत्र सय सिनेमा हलहरुमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । पत्रकार सम्मेलनमा हेटौंडेली नव नायक मनिष रावत, प्रेम पुरी, गायक प्रताप दास लगायतले चलचित्रबारे आफ्ना अनुभव र भनाई राखेका थिए ।
स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शीव श्रेष्ठ, पुष्कर कार्की, सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, जीवन भट्टराई, मनिष रावत लगायत कलाकारहरुको अभिनय रहेको छ ।
निर्देशक गुरुङको चलचित्र प्रदर्शन हुनु अघि नै निधन भइरहेको छ । गुरुङ चलचित्र लेखक समेत रहेका थिए । उनले लेखेका चलचित्र नोभेम्बर रेन, क्लासीक रहेको छ भने डमरुको डण्डीवियो चलचित्र निर्देशन गरेका थिए ।