हेटौँडा \ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ । शनिबार हेटौँडामा सूचनाको हकको लागि राष्ट्रिय महासंघले आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आफु र नागरिक, समाजलाई सुसुचित गर्न सूचना माग गरी उक्त सूचनालाई प्रयोजन गर्न आग्रह गर्नुभयो ।
सूचनाको नि वर्गीकरण हुन्छन्, दिने र नदिने खालका सूचना छुट्याएर गोपनियता कायम गरी दिन मिल्ने सूचनाहरु सूचना मागकर्तालाई दिनुपर्छ, उहाँले भन्नुभयो । सूचना मागको प्रयोजन के को लागि हो, खुल्नुपर्ने बताउँदै प्रमुख आयुक्त आचार्यले सुचना मागकर्ताले सबै माग गरिएको सूचना नपाइने बताउनुभयो ।
पछिल्लो समय नियतबस माग्नेले समाजमा विकृति बढेको छ, त्यस विकृतिलाई निरुपण गर्न आयोग सक्रिय रुपमा लागिरहेको भन्नुभयो । पत्रकारको नाममा सूचना माग्दै बाग्रेनिङ गर्ने, जिल्लामा बदनाम भएको अवस्थामा पनि राष्ट्रपतिबाट अभियान्ताको नाममा सम्मान लिँदै गर्दा आयोगप्रति प्रश्न उठेको आचार्यले बताउनुभयो । अब त्यस्तो हुन्न, हामी तीनै जना सञ्चारक्षेत्रबाट आएका छौँ, पत्रकारले के का लागि सूचना माग्ने हो हामीलाई राम्रो सँग थाहा छ, आचार्यले भन्नुभयो । सूचना माग्ने सूचना अभियान्ता होकी सेटिङ मिलाएर कुरा मिलाउने अभियन्ता हो पहिल्यै पहिचान गरिनुपर्छ ।
उहाँले सम्बन्धित सामाजिक संघसंस्था होस् या सरकारी कार्यालयले पारदर्शिताका साथ काम गरी सुशासन कायममा अग्रसर हुन आग्रह गर्नुहुँदै सूचना माग गर्दा निर्धक्क भएर दिने वातावरण आफै निर्माण गर्न अनुरोध गर्नुभयो । महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आयोगका सूचना आयुक्त दुर्गा भण्डारी पौडेल, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, हेटौंडा उपमहानगरका महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।