कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड कैलाश-३ मा अवस्थित भवानी माध्यामिक विद्यालयले हात पारेको छ । विद्यालयले ९ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड हात पारेको हो । कैलाश गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगिता भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा ६ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा ४ स्वर्ण, एक कास्य पदक सहित कैलाश २ मा अवस्थित कमलादेवी मावि द्धितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित कैलाश ९ मा अवस्थित कालिका माविले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।
त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्धितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्धितीय र साजन कुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले बताए ।
यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्धितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्धितीय र सोनाम घिसिङ तृतीय भएका छन् । त्यस्तै, लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्धितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्धितीय र विप्लव घिसिङ तृतीय भएका छन् । प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्धितीय र सञ्जमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ रमन थिङ प्रथम, सुरेश खड्का द्धितीय र सुनील प्रजा तृतीय भएका छन् ।
यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्धितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्धितीय र दिवाकर प्रजा तृतीय भएका छन् । एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्धितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्धितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताए ।
भलिबलतर्फको खेलमा कमलादेवी माध्यामिक विद्यालय विजेता बनेको थियो भने उपविजेता भने धुवाङ माध्यामिक विद्यालय रहेको जनाइएको छ ।
समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको थियो । विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।प्रतियोगितामा कमलादेवी मावि कैलाश-२, भवानी मावि कैलाश-३, व्यास मावि कैलाश-६, धुवाङ्ग मावि कैलाश-८, कालिका मावि कैलाश-९ र रत्नज्योति मावि कैलाश-१० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताए ।