हेटौंडा \ हेटौंडा २ मा विस २०३७ सालदेखी सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसलाई विश्व विद्यालय बनाउने तर्फ लाग्ने क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उपाध्यायले विद्यार्थी संख्या धेरै, विषय शिक्षण पनि धेरै रहनुका साथै ६ जना पिएचडी गरेका प्राध्यापक रहेकाले क्याम्पसलाई अब विश्व विद्यालय तर्फ लैजानुपर्ने बताएका हुन् ।
क्याम्पसमा प्लस टु, विविएस, विए, विएड, विएस्सी, एमविएस, एमए, एमएड तहहरु रहनुका साथै यसैवर्ष देखी शिक्षा संकाय अन्र्तगत बिआइसीटीइ कार्यक्रम सञ्चालन गरिएको प्रमुख उपाध्यायले बताए । वार्षिक ६ हजार भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको मकवानपुर क्याम्पसबाट विविएमका मनिषा लुइंटेल, पुष्पा दुलाल, प्रजिता सुवेदी र समिक्षा सापकोटाले नेपाल टप गरेका छन् ।
क्याम्पसमा ९ जना सहप्राध्यापक, ५२ जना उपप्राध्यापक, ९ जना सहायक प्राध्यापक, आंशिक प्राध्यापक ७ जना, कोर्स करार ४ जना गरी ८१ जना प्राध्यापकहरुले अध्यापन गराइरहेका छन् । समुदायबाट सञ्चालित नेपालको ठुला सामुदायिक क्याम्पसहरु मध्येमा पर्ने मकवानपुर क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको क्युएए सर्टिफिड क्याम्पस हो । क्याम्पसले आव २०७९/०८० मा २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।