हेटौंडा \ नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले फागुन २० गते परेको लदि (कोसी) पूजाको अवसरमा मङ्गलवार बकैया गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले आइतबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बकैयाको वडा नम्बर ६ जुईनामा हुने विशेष कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले सम्बोधन गर्ने बताएको छ ।
नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिवासी जनजाति मध्ये माझी जाति पनि एक हो । खोला तथा नदी किनारमा बसोबास गर्ने यो जाति माछा मार्ने, डुङ्गा चलाएर आफ्नो जीविकोपार्जन गर्ने जातिको रूपमा चिनिए पनि हाल आएर यी पेशाहरूबाट जीविकोपार्जन हुन छाडे पछि बढी जसो खेतीपाती गरेर आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् । यसका अलवा ज्याला मजदुरी, साना तिना जागिर तथा विदेश जाने प्रचलन पनि हाल प्रशस्त मात्रमा रहेको छ ।
यो जातिको आफ्नै भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा, रहन सहन र सामाजिक परम्परा छ । यो अन्य जतिकोसँग मेल खाँदैन । त्यसैले यो जातिको छुट्टै पहिचान छ भन्दा फरक पर्दैन । जातीय स्वभाव अत्यन्त सोझा मिजाशीला र मेहनती यो जाति, सकेसम्म आफ्नो समुदायमा मात्र बस्न रुचाउँछन् । अन्य समुदाय रहेको गाउँमा यो जातिको एक्लै घर रहेको पाउन मुस्किलै पर्छ । सम्भवतः पाइँदैन पनि।
विशेष गरी सप्तकोसी नदिका छेउछाउ, भित्री मधेस र तराई क्षेत्रमा यो जातिको बढी बसोबास रहेको छ । तराईका सहनी, थारु, मुसहर भित्री मधेसमा बोटे नेपालका खस क्षेत्रीहरू र रायमाझीहरूले समेत माझी लेख्ने भएकोले वास्तविक माझीहरूको पहिचान सङ्कटमा परेको छ । तराईका पानी अचल जाति मुसहरले समेत माझी लेख्ने भएकोले तराईमा बसोबास गर्ने माझीहरूले कुश्वार लेख्ने गरेको पाइन्छ । त्यस कारण माझीको पहिचानमा अझ सङ्कट थपिएको छ ।
सरकारले आदिवासी जनजातिको वर्गीकरणमा अति सीमान्तकृत जातिकोरुपमा वर्गीकरण गरेको यो जातिको जनसङ्ख्या २०७८ सालको जनगणनालाई आधार मान्ने हो भने १ लाख ११ हजार ३५२ रहेको छ । तथापि यो सङ्ख्या भन्दा बढी रहेको माझी बुद्धिजीवी तथा जानकारहरू बताउँछन् । यो जातिले बोल्ने छुट्टै भाषा छ । जसलाई माझी भाषा भनिन्छ । यो भाषा भारोपेली भाषा परिवार अन्तर्गत गर्दछ । सुनकोसी, तामाकोसी, दुधकोशी क्षेत्रहरूमा यो भाषा बढी मात्रामा बोलिन्छ भने अन्य ठाउँमा छिटपुट मात्रामा बोलिन्छ तथापि कुनै ठाउँमा यो भाषा बोल्ने मानिस पाउन कठिन छ । यसरी नै यो भाषाको लोप हुँदै जाने हो भने एक दिन यो भाषा पुर्णरुपमा लोप हुनेछ । ठाउँ विशेष यो भाषाको शब्द उच्चारणमा केही फरक रहेको पाइन्छ । नेपाल सरकारले २०७८ सालमा गरेको जनगणनामा यो भाषा बोल्नेको सङ्ख्या ३२ हजार ९१७ रहेको तथ्याङ्क रहेको छ ।
लदि (कोसी) पूजाः
माझीहरूले हिन्दुहरूको सिको गरेर विभिन्न किसिमका हिन्दु चाडपर्वहरू जस्तै दसैँ तिहार लगायत अन्य चाडपर्व मनाउने गर्दछन् । तथापि ऐतिहासिक महत्वको हिसाबले अरू सबै चाड मध्ये लदि (कोसी) पूजा माझीहरुम प्रमुख चाड हो । यो चाड विशेष किसिमले पानीको स्थानीय रूपमा जहाँ जुन खोला नदी छ त्यसलाई पूजा गरेर चाडको रूपमा मनाउने गर्दछन् । माझीहरूको साझे संस्था नेपाल माझी उत्थान सङ्घको २०६५ साल माघ २८ गतेको केन्द्रीय समितिको बैठकले यसलाई राष्ट्रिय चाडको रूपमा घोषणा गरेको छ । ठाउँ विशेष रूपमा यो चाड वैशाख, असार, माघ र फाल्गुणमा मनाइने भएता पनि हाल नेपाल माझी उत्थान सङ्घकै पहलमा देश भरिनै फागुन महिनाको साइँली तेस्रो मंगलबार मनाउने गरिएको छ । त्यस भन्दा पहिले धेरै जसोले फागुन महिना र ठाउँ अनुसार फरक फरक मितिमा मनाइने गरेको पाइन्छ ।
यो साल लदि(कोसी) पुजा २०८१ साल फागुन २० गते परेको छ । सो अवसरमा देशै भरीका माझी समुदायले नजिकका नदि खोलामा गएर भब्य रुपले नदि खोलाको पुजा गर्ने गर्दछन । त्यो दिन माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेशले समेत गत बर्ष र यो वर्षपनि माझी समुदायहरुलाई सार्वजनिक विदा दिने घोषण गरिसकेको छ ।