प्रर्दशनरत दुई सिनेमा ‘मायावी’ र लाज शरणम हेरियो । दुवै चलचित्र फरक विषयमा बनेका रहेछन् । ‘मायावी’ले प्रेमकथा बोल्ने छ भने लाज शरणमले कर्णालीको बिषय बस्तुलाई उठान गरेको छ । सुन्दर कर्णालीको आम समस्या र यसमा नेताहरूको गहिरो अपहेलनका मार्मिक विषयहरू छन् ।
सिनेमा हलमा लाज शरणम हेर्न पुगेका दर्शकहरूले पाडे र धतुरेको कमेडी अपेछा गरेता पनि विषय बस्तु फरक छ । कमेडी जनराका कलाकारहरूको जम्बो टोलीले सिङ्गो देशको कथा बोलेको छ । यो चलचित्रले राजनैतिक दल र उनीहरूको भूमिका माथि आलोचनात्मक चेत खुलाएको छ । नेताहरू पद र पैसाको पछाडि लाग्दा जनताहरूको बेहाल भएको कथनले पक्कै पनि आम नेपालीहरूमाथि प्रश्न गरेको छ । एनजिओ र झोले चम्चेहरुको रगरगमा देशले के पाई रहेको छ भन्ने कुरा चलचित्रमा छ । चलचित्रबाट कमेडीको अपेछा धेरै दर्शकहरूले गर्दछन् तर थोरै कमेडीभित्र सिङ्गो कर्णालीको शिक्षा र स्वास्थ्य क्षेत्रको व्यथा उत्रेको छ ।
कमेडी, व्यङ्ग्य र सन्देश मिश्रित चलचित्रलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिईरहेका छन् । कथावस्तु र कलाकारहरूको अभिनय सबैभन्दा बढी प्रशासित देखिन्छ । अभिनेता सिताराम कट्टेलको पात्रले हँसाउने र अर्का अभिनेता महेश त्रिपाठीको उम्दा अभिनयको भावुक बनाउने दृश्य मानसपटलमा रहिरहन्छ । सिताराम व्यापारी र महेश कर्णालीको दुखी पात्रको भूमिकामा प्रस्तुत छन् । कर्णालीका मनमोहक दृश्य समेटिएको चलचित्रमा त्यहाँको सुन्दरता मात्र छैन कर्णालीको दुःख पनि सबर्णन चित्रण छ ।
महेशको पात्र मार्फत कर्णालीवासीले भोगिरहेको दुःख र समस्यालाई चलचित्रले मर्मस्पर्शी रूपमा देखाएको छ । महेशको जीवन्त अभिनयले चलचित्रलाई नै सजीव बनाएको देखिन्छ । कुमार कट्टेलको निर्देशनमा बनेको ‘लाज शरणम’मा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ आदिको अभिनय रहेको छ ।
यस्तै निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको लभ स्टोरी जनराको चलचित्र मायावीले पनि प्रेमकथाका दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्दछ । चलचित्रको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयले मन छुन्छ । चलचित्रले केही भावुक पनि बनाएको छ । चलचित्रको पहिलो भन्दा पनि बढी दोस्रो पार्टले बढी मन छोएको छ,दर्शकहरूलाई बाँधेर राखन सफल भएको छ । मायावी माया नै मायाले भरिपूर्ण गरेर पस्केको चलचित्र छ । अर्ग्यानिक मायाको विषयवस्तु चलचित्रको मेरुदण्ड हो । चलचित्रमा समावेश पटकथा संम्बाद निकै रोचक र घोचकछन् । चलचित्रमा पल शाहर दिपिकाको केमेस्ट्री राम्रो छ । चलचित्रमा केही कलाकार छनौटमा निर्देशन पक्ष चुकेको छ । चलचित्रलाई चाहिने भन्दा बढी घुमाउन र दर्शक्हरुलाई बढी बाध्न खोज्नु खिर धेरै खाए तितो हुन्छ भने जस्तै छ ।
निर्देशककै भनाईमा मायावी शब्दको अर्थ सुन्दर जाल वा आकर्षण हो । मायाबिना संसार चल्न सक्दैन, किनकि मायाले नै जीवनलाई बाँधेको हुन्छ । चाहे त्यो बाबु(आमाको माया होस, चाहे प्रेमी(प्रेमिकाको माया, सबैमा त्याग र तपस्या हुन्छ। ‘मायावी’ ले त्यही कथा बोलेको छ । प्रेम पाउने भन्दा प्रेम त्याग्नेहरूको कथा अझ बलियो हुन्छ भन्ने कुरालाई चलचित्रले भन्न खोजेको मैले बुझेको छु । ‘‘पीडा पाएर पनि खुसी हुने पात्रहरूको कथा नै मायावीको कथा छ ।
सामान्य परिवारको कथाबाट सुरु भएको यो चलचित्रले खुसी र सुख बिचको भिन्नतालाई दर्साउने प्रयास गरेको छ । जीवनमा कहिलेकाहीँ गुमाएर पनि पाइरहनु नै मायावी हो । निर्देशक भट्टराई स्वयंको लेखन रहेको चलचित्रमा पल, दीपिका र समीम खान सहित प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी लगायतको अभिनय छ । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको छ । यि दुबै चलचित्रहरु हेटौडाको एनएस सिनेमाहलमा हेर्न अबसर मिल्यो । बिशेषत संचारकर्मीटोलीहरुसंग बसेर चलचित्र हेर्दा चलचित्रका बिषयबस्तु माथिका टिप्पणी गर्न अनि समिक्षा गर्नपनि माहोल बन्दै जादो रहेछ ।दुवै चलचित्र हेर्न दर्शक्हरुलाई सिफारिस गर्दछु ।