हेटौँडा / हेटौडाका युवा सङ्गीतकर्मीहरूको टिमले निर्माण गरेको म्युजिक भिडियो ‘अझै पनि’ सोमबार सार्वजनिक गरिएको छ । द इन्फेरियर ब्यान्डले निर्माण गरेको पहिलो म्युजिक भिडियो ‘अझै पनि’ मा सन्ध्या आचार्य, बाल कलाकार अमिक्षा घतानी र राजन थापाले अभिनय गरेका छन् । गीतको शब्द र सङ्गीत स्वयं इन्फेरियर ब्यान्डले तयार पारेको हो ।
ब्यान्डका म्यानेजर सञ्जीव सिंह वाइबाका अनुसार, यसअघि ब्यान्डले नौ वटा म्युजिक भिडियो निर्माण गरिसकेको भए पनि ‘अझै पनि’ ब्यान्डको पहिलो आधिकारिक म्युजिक भिडियो हो । सङ्गीत प्रेमीहरूका लागि भिडियोलाई इन्फेरियर ब्यान्डको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा प्रेम, बिछोड र सम्झनाको भाव बोकेको छ ।
गायन जीवनमा आई पर्ने उतारचढाव म्युजिक भिडियोमा कथाको रूपमा देख्न सकिन्छ । सामाजिक पारिवारिक भिडियोले सङ्गीत क्षेत्रमै भिज्ने युवा गायकको कथा बोलेको छ । शब्द, सङ्गीत, अभिनय र छायाङ्कनको उत्कृष्ट संयोजनले यो म्युजिक भिडियो दर्शक र श्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ । हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आयोजित समारोहका बिच यो भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवं गायक लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने गायक टुल्कु बहादुर लामा, बाबु क्षेत्री,बर्डस ब्यान्डका गायक विजय कार्की,अभिनेता,मोडल अमिर गौतम लगायत नेपाली साङ्गीतिक क्षेत्रमा मकवानपुरबाट प्रतिनिधित्व गर्नेहरूको सहभागिता रहेको थियो । भिडियो सार्वजनिक पछि दर्शकहरूको राम्रो प्रतिक्रिया मिलेको ब्यान्डका म्यानेजर सञ्जीव सिंहले बताए ।
हेटौडामा पहिलो पटक प्रिमियम सो मार्फत भिडियो सार्वजनिक गर्ने परम्परालाई म्युजिक भिडियो ‘अझै पनि’ ले सुखद सुरुवात गरेकोमा सङ्गीतकर्मीहरूले यसको प्रशंसा गरेका छन् । म्युजिक भिडियालाई सुमन तामाङले ए रेन्ज गरेका छन् भने डियोपी मनोज घतानी,छाँयाकन र सम्पादन मनिस श्रेष्ठ,सहायक छाँयाकन समुल भ्लोन,बिटिएस जय खडगीको रहेको छ ।