हेटौँडा / हेटौँडा अस्पतालको शवगृहमा राखिएको बेवारिसे शव कुहिएर कीरा परेको छ। शवको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएको र स्थानीय युवाहरूले विरोध जनाएपछि यो विषय सतहमा आएको हो। अस्पतालको फ्रिज बिग्रिएको कारण शव कुहिएको देखिए पनि यस विषयमा सम्बन्धित निकायहरू एकअर्कालाई दोष दिँदै समस्याको समाधान गर्न असफल भएका छन्।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट रामचन्द्र सापकोटाले कानुनी प्रक्रियाअनुसार पहिचान नभएसम्म शव राख्नुपर्ने बताउँदै प्रहरीको सहमति बिना शव व्यवस्थापन गर्न नसकिने बताएका छन्। अर्कोतर्फ, जिल्ला प्रहरी कार्यालयले शव व्यवस्थापन अस्पतालको जिम्मेवारी भएको उल्लेख गरेको छ। प्रशासन र सुरक्षाकर्मीबीचको समन्वय अभावकै कारण शव कुहिएर कीरा परेको अवस्था आएको हो।
स्थानीय युवाहरूले अस्पतालको शवगृहमा गम्भीर लापरबाही भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। ‘हेटौँडा अस्पताल बचाऊ अभियान’ का अभियन्ता रामशरण कार्कीका अनुसार, अस्पताल प्रशासनलाई पटक–पटक अनुरोध गर्दा पनि अस्पतालको बिभिन्न पक्ष सुधार गर्नुपर्ने देखिए पनि गरेको छैन । शव कुहिएको अवस्थामा भेटिएपछि उनीहरू आफैँले आइस ल्याएर प्लास्टिकमा बेरेर व्यवस्थापन गर्नुपरेको बताएका छन्। अस्पताल प्रशासनले मृतकका आफन्तहरूमाथि समेत अन्याय गरेको उनीहरूको भनाइ छ।
नेपालमा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। निर्देशिकाअनुसार, पहिचान नभएका शवहरूलाई १२ वर्षसम्म सुरक्षित रूपमा राख्न सकिने व्यवस्था छ। तर, हेटौँडा अस्पतालमा आधुनिक शवगृहको अभाव, पर्याप्त फ्रिज नहुनु, र स्थानीय निकायहरूको उदासीनताले निर्देशिकाका व्यवस्थाहरू कागजमै सीमित भएका छन्। अस्पताल प्रशासन, प्रहरी, र स्थानीय तहबीच समन्वयको कमी हुँदा शव व्यवस्थापनमा समस्या निम्तिएको हो।
शव व्यवस्थापनमा ढिलाइ हुँदा अस्पताल परिसरमै मृत शरीर कुहिने अवस्था सिर्जना हुनु एउटा ठूलो व्यवस्थापकीय असफलता हो। प्रहरी प्रशासनले शव व्यवस्थापनको कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने बताउँदै जिम्मेवारीबाट हात झिक्ने प्रयास गरेको देखिन्छ। समस्या समाधानका लागि अस्पतालमा आधुनिक शवगृह निर्माण गर्नु आवश्यक छ। बेवारिस शव व्यवस्थापनका लागि प्रभावकारी कानुनी संरचना लागू गरी स्थानीय तह, प्रहरी, र अस्पतालबीच सहकार्यको संयोजन गर्नुपर्छ। अस्पतालको शवगृहमा भौतिक संरचनाको विकास गरिनुका साथै, डिजिटल डाटाबेसको प्रयोग गरेर शवको पहिचान सहज बनाउन सकिन्छ।