मकवानपुरगढी \ सामूदायिक वन उपभोक्ता महासंघको स्थानीय महासंघ मकवानपुरगढीको विहीबार दोस्रो स्थानीय परिषद् भएको छ । महासंघका अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षता तथा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखानसिं पाख्रीनको प्रमुख आतिथ्यतामा परिषद् भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पाख्रीनले सामूदायिक वनहरुको सक्रियता कम रहेको बताउँदै २९ वटा प्रजातिका काठ विक्रीमा रोक रहेको अवस्थामा अहिले खुला रहेकाले वन समूहहरु सक्रियरुपमा अघि बढ्नुपर्ने बताए । कानूनी प्रक्रिया झंझटिलो त छ नै तथापि स्थानीय सरकारसँगको सहकार्यमा वन सम्बन्धी काम गर्नुपर्नेमा जोड दिए । वन क्षेत्रलाई उत्पादनसँग जोडिनुका साथै पर्यटन पर्यावरणमा पनि काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बाले वनलाई आगलागीबाट जोगाउन पत्करलाई व्यवस्थापन गर्नुपर्ने बताए । वन समूहका सबैको सहभागितामा मलको प्रयोगमा पनि हुने भएकाले पत्करहरु व्यवस्थापन गर्नुपर्ने जरुरी रहेको छ । वन क्षेत्रको काममा वडाबाट गर्नुपर्ने सहयोगमा आफु तत्पर रहेको समेत बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले वन क्षेत्रलाई अब उद्यमी, रोजगारी र व्यवसाय सँग जोडेर वृद्धि विकास गरी काम गर्नुपर्ने बताए । दाउरा र काठ मात्र होइन कि उत्पादनमूलक सँग पनि जोडिनु आवश्यक रहेको उनले बताए । किसानलाई जंगली जनावरले दुःख दिइरहेको अवस्था छ, बंदेल, बाँदर, मृग लगायत अन्य जनावरले बालीनाली नोक्सान गरिरहेकाले पनि सरकारले उक्त क्षतिको आवश्यक राहत गर्नुपर्ने उनको जोड रहेको थियो ।
कार्यक्रममा महासंघ जिल्ला समिति सचिव निर्मला न्यौपाने, सव डिभिजन वन कार्यालय मकवानपुरगढीका सहायक वन अधिकृत निश्चल घिमिरे, स्थानीय महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, वडा ७ का वडा सदस्य तीर्थकुमारी ल्वागुन, सामूदायिक वन अधिकार सुनिश्चिता परियोजना क्लस्टर परियोजना संयोजक सन्ध्या शिवाकोटी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । परिषद्मा गाउँपालिका क्षेत्र भित्र रहेका सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाभित्र २९ वटा सामूदायिक वन समूह रहेता पनि स्थानीय महासंघमा २२ वटा वन समूह आवद्धता रहेको स्थानीय महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारीले बताए । गढीका करिब १८ हजार भन्दा बढी संख्यामा नागरिक वन समूहमा आवद्ध रहेको अधिकारीले बताए । सोही अवसरमा सामूदायिक वन अधिकार सुनिश्चिता परियोजना अन्तरगतको स्थानीय वन ऐन तथा कार्यविधि कार्यान्वयन गर्नका लागि सहजिकरण बैठक समेत सञ्चालन भएको थियो ।