हेटौंडा \ मकवानपुरमा ५ चैतमा भएको स्ववियु निर्वाचन–२०८१ अन्तर्गत् अनेरास्ववियुबाट विजयी बनेका पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले मकवानपुरको जनसंगठन समन्वय संयन्त्रले अनेरास्ववियुबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वंशगोपाल क्याम्पस, वनविज्ञान संस्थानमा निर्वाचित स्ववियु सभापतिसहित पदाधिकारी र सदस्यहरुलाई बिहीवार पार्टी कार्यालयमा सम्मान प्रदान गरिएको हो । जिल्लाका ८ क्याम्पसहरुमध्ये ४ वटामा अनेरास्ववियुले सभापति पाएको छ ।
मकवानपुर, हेटौंडा र निर्मल बहुमुखी क्याम्पसमा निर्वाचनबाट र वंशगोपालमा सर्वसम्मतिले अनेरास्ववियुबाट सभापति चयन भएको थियो । जनसंगठन संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य केदारप्रसाद न्यौपाने, पार्टी केन्दीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका, माला लगाएर सम्मानसहित बधाई ज्ञापन गरेका छन् ।
पार्टी, अनेरास्ववियुको स्ववियु निर्वाचन लक्षित विशेष योजनाले स्ववियु निर्वाचनमा सफलता हात परेको भन्दै विगतको जुर्मुराउँदो अनेरास्ववियु निर्माणमा लाग्न सबै नेताहरुले अनुरोध गरे । स्ववियुमा निर्वाचित भएकाहरुले विद्यार्थीको हकहितमा लाग्दै क्याम्पसमा अनेरास्ववियुको एकल वर्चश्व हुने गरि काम गरेर देखाउनुपर्ने पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जोड दिए । संयन्त्र प्रमुख पौडेलले विद्यार्थीहरुको लोकप्रिय मतबाट अनेरास्ववियु मकवानपुरको बलियो संगठनको रुपमा स्थापित हुँदै आएकोमा यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य अनन्त पौडेल, पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलाल, प्रदेश कमिटी सदस्यहरु बद्री लम्साल, भगवति पुडासैनी, पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा, सचिव सिता विष्टले आफ्नो धारणा राखे । यस्तै, कार्यक्रममा पार्टी जिल्ला सदस्य तथा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी, अनेरास्ववियु स्थायी कमिटी सदस्य किसन घिसिङ, अनेरास्ववियु केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भुवन मैनाली, अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलालगायतको अतिथ्यता रहेको थियो भने मिलन पाठकले कार्यक्रमको सहजीकरण गरेका थिए ।