कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले प्राथमिक तहमा नवनियुक्त भएका शिक्षकहरुलाई पदस्थापना पत्र हस्तान्तरण गरिएको छ । शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो ।
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र हस्तान्तरण गर्दै यहाँहरुको योग्यताक्रम र छनौट गरिएको विद्यालय अनुसार शिक्षकलाई उक्त विद्यालयको लागि पद स्थापना गरिएको बताए । किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई तर्फ पनि ध्यान दिन आग्रह गर्दै कैलाशका बालबालिकाको भविष्य यहाँहरुको हातमा रहेको बताए ।
चुनौति सँगै अवसर समेत रहेको छ, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ, अध्यक्ष मुक्तानले भने । शिक्षा, स्वास्थ्य र बजेट कार्यान्वयनका सुचाङ्कले वित्तीय समानीकरण बजेट वृद्धि हुनाले त्यसतर्फ यहाँहरुले ध्यान दिनु जरुरी रहन्छ ।
बेसलेभलमा दिने शिक्षा यहाँहरुको हातमा रहेको छ । विकटता रहेको स्थानीय तह रहेकाले संकुचित भएर नबस्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । उनले शिक्षा प्रदान तर्फ ध्यान दिनुस्, गाउँपालिकाले यहाँहरुको अभिभावकत्व निर्वाह गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरेका थिए ।

गाउँपालिकाले माग गरे अनुरुप ३७ जना शिक्षकलाई पदस्थापना गरिएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीले बताए । शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेको जोशीले बताए । गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखी ३ सम्मको १२ वटा, कक्षा एक देखी ५ सम्मको २३ वटा, कक्षा १ देखी ८ सम्मको ४ वटा, कक्षा १ देखी १० सम्मको ५ वटा र कक्षा १ देखी १२ सम्मको एक वटा विद्यालय सञ्चालनमा रहेको प्रमुख जोशीले बताए ।
