कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित कैलाश डाँडा र बैैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भइरेको छ । विकट गाउँको रुपमा रहेको तत्कालीन डाँडाखर्क गाविस संघीयता पछि कैलाश गाउँपालिकाको रुपमा रहेको छ । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको कैलाश बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कसहित हिमाल र पहाडको दृश्य अवलोकन गर्न सकिन्छ ।

मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ भने धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठ डाँडा पुग्न सकिन्छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरुको आकर्षक दृश्य देख्न सकिन्छ । ऐतिहासिक गाउँको रुपमा रहेको बैकुण्ठमा तामाङले घाटु नाँच नाँच्ने प्रचलन छ । घाटु नाँच गुरुङको संस्कृति भएता पनि बैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटु नाँच नाँच्ने संस्कृति विकास गरेका छन् । हरेक वर्ष जेठको चण्डि पूर्णिमा मेला लाग्नुका साथै तामाङ जातिको घाटु नाँच नाँच देखाइने गरिन्छ ।

मकवानपुरको उत्तरी भेगमा महाभारत पर्वतमा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवम् धार्मिक महत्व बोकेका स्थलहरुलाई समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले पर्यटकलाई आकर्षित गर्नुको साथै गाउँमाथि रहेको विष्णु कुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापनाले थप आकर्षण थपिदिएको छ ।
उति बेलाको विकट गाउँमा अहिले सडक पूर्वाधारको पहुँच पुगेको छ । सिजनमा चल्ने बसडक पूर्वाधारले पनि सो क्षेत्रमा आन्तरिक पर्यटकको रोजाईमा परेको छ । एक हिसाबले भन्ने हो भने कैलाश बैकुण्ठ ‘आन्तरिक पर्यटकको हब’को रुपमा विकास भइरहेको छ ।
संघीयता कार्यान्वयनसंगै आएको स्थानीय तहले विकट क्षेत्रको रुपमा रहेको सो स्थानलाई पर्यटनको केन्द्र बनाउने गरी अघि बढाएको गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताए । उनका अनुसार गाउँपालिकाको आन्तरिक स्रो व्यवस्थापन गरी पर्यटन विकासका लागि कैलाश बैकुण्ठलाई अघि बढाइएको हो । हाल उक्त क्षेत्रमा पदयात्रा गर्नेहरुको आवागमन बढेको उनले बताए । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकहरुको संख्या पनि बढ्दो रहेको उनले बताए । गाउँपालिकाले कैलाश बैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउनको लागि प्राथमिकताका साथ लगानी गरेसँगै आकर्षक पार्कहरु, गुम्बा लगायतका संरचना निर्माण गरेको उनले बताए । बैकुण्ठमा करिब एक करोडको लगानीमा जीपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको उनको भनाई छ ।

बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिने, ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बैकुण्ठ निकै महत्वपूर्ण मानिएको अध्यक्ष मुक्तानले बताए । कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको अध्यक्ष मोक्तानको भनाइ छ ।
अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाको पहलमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरिदिएपछि डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क निर्माण गरिएको छ । ऐतिहासिक बैकुण्ठ डाँडामै गाउँपालिकाले २२ लाख रुपैयाँ लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरिएको उनले बताए ।

डाँफे मुनाल पार्ककै मुनि पट्टी अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको उनको भनाई छ । सो विष्णु कुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा गाउँपालिकाले १५ लाख रुपैयाँ खर्चिएर राखेको वौद्ध धर्मका धर्मगुरु पद्म सम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउछ ।
बैकुण्ठमा पछिल्लो समय थप धेरै संरचनाहरु निर्माण भइसकेको र धादिङ, मकवानपुर र चितवनदेखि पर्यटकहरु आउने गरेको अध्यक्ष मोक्तानले बताए । उनका अनुसार डाँफे मुनाल पार्कसँगै प्रदेश सरकारको १० लाख रुपैयाँ लगानीमा बैकुण्ठ गाउँ सतिघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ । करिब ४०० वर्षअघि बैकुण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतघाट निर्माण गरिएको अध्यक्ष मोक्तानले बताए ।

साहसिक पर्यटनका लागि जिपलाइन मकवानपुरको कैलाशगाउँपालिका वडा नम्बर २ बैकुण्ठमा नवनिर्मित कैलाश-बैकुण्ठ जीपलाइनको पहिलो चरणको परिक्षण भएको छ । कैलाश गाउँपालिकाको बैकुण्ठदेखि कैलाशडाँडा जोड्ने जीपलाइन निर्माण गरेको हो । गाउँपालिकाको एक करोड रुपैयाँ लगानीमा जीपलाइनको परिक्षण समेत सफलतापूर्वक गरेको हो । गाउँपालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरेको थियो । ०८० माघमा ८ लाख ५६ हजार रुपैयाँमा ०१ फागुन मसान्तसम्ममा ठेक्का सम्झौता भइ काम थालिएको थियो । सम्झौता अनुसार समयमा नै निर्माण काम गरिएको र छिट्टै संचालनमा ल्याउने योजना तयारी गाउँपालिकाको रहेको छ ।
अध्यक्ष मोक्तानका अनुसार पर्यटनका लागि आवश्यक धेरै संरचनाहरु बनाइसकिएको र अब पर्यटकको आवासको लागि व्यवस्थित होमस्टे स्थापनाको योजना रहेको उनले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी स्थानीय सरकार र स्थानीयको साझेदारीमा होमस्टे सञ्चालन गर्ने योजना तयार गरेको अध्यक्ष मोक्तानले बताए । रिसोर्ट र होटल सञ्चालनको लागिसमेत निजी क्षेत्रलाई आह्वान गर्ने गाउँपालिकाको रणनीति रहेको उनले बताए ।

बैकुण्ठको पर्यटन प्रवद्र्धन गर्न आगामी दिनमा स्काई साइकिलिङदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने योजना अनुुसार प्रक्रिया अघि बढाइउको उनले बताए । आगामी आर्थिक वर्षमा कैलाश गाउँपालिका– १ र २ को सिमानामा रहेको गुप्तेश्वरी गुफा र कैलाश डाँडामा रहेको कैलाश गुफा जोड्ने सिँढीसहितको पैदलमार्ग बनाउने योजना अनुसार काम भइरहेको उनको भनाई छ ।