हेटौँडा \ मानवसेवा आश्रमले आजदेखि हेटौँडा-९ लामसुरेधापमा महायज्ञ सञ्चालन गरेको छ । आजदेखि हेटौँडामा सुरु भएको महायज्ञको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले समुद्घाटन गर्नुभएको हो । साथै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले आश्रमलाई उचित सहयोग गर्ने बताउनुभयााे भने महायज्ञमा व्यक्तिगत रुपमा मुख्यमन्त्री लामाले अक्षयकोष श्रीवृद्धिका लागि २५ हजार रुपैयाँ दान गर्नुभएको हो ।
मानवसेवा आश्रम मुख्य कार्यालयको क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । महायज्ञ समुद्घाटन पूर्व कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, सांस्कृतिक झाँकी सहित सुरु भएको कलश यात्रा गुम्बा टोल, प्रगति टोल हुँदै आश्रममा पुगेको थियो । साथै महायज्ञमा आइतबार अक्षयकोष श्रीवृद्धिको लागि हेठौडा उपमहानगरपालिकाले डेढ करोड सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा ९ नम्बर वडा कार्यालयले प्रत्येक वर्ष आश्रमलाई आवश्यक पर्ने १० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने भएको छ । त्यस्तै कृष्ण धितालले महायज्ञमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ एक काेठा निर्माणका लागि दान गर्नुभएकाे हाे भने पुरन बहादुर जोशीले अक्षयकोष श्रीवृद्धिका लागि ५ लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले मानवसेवा नै सबैभन्दा ठूलो सेवा रहेको भन्दै मानवसेवा आश्रम हेटौँडाको गौरव भएको बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख ललित घलानले पालिकाअनुसार सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । साथै घलानले व्यक्तिगत रुपमा आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।
भोलिदेखि २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ शिविर, ८ बजेदेखि १० बजेसम्म युवासँग सकारात्मक सोच, मानवता प्रवर्द्धन एवं युवासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ । बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भागवत भाष्कर कमलनयन गौतमबाट कथा प्रवचन हुनेछ । आश्रमको पाङ्गणमा हेटौँडा लामसुरेधापमा आजदेखि सुरु भएको महायज्ञ चैत २४ गतेसम्म सञ्चालन हुनेछ ।