कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५-१४, २३-२५, २५-१६, २५-२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल खेलमा वडा ५ ले वडा २ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर ३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी वडा ५ का धिरज लो घोषित भए भने उदयीमान खेलाडीमा वडा ४ का नमराज मोक्तान घोषित भए । त्यस्तै, उत्कृष्ट स्पाइकरमा वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा ५ का वीरबहादुर वाईवा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईवा घोषित भए । विधागत विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।

खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामा, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, समाजसेवी नरेन्द्र रिजाल लगायतको आतिथ्यता रहेको थियो ।