हेटौंडा \ प्रकाश महर्जन हेटौंडाको पहिलो मोवाइल प्राविधिक तथा मोवाइल व्यवसायी हुन् । यस अर्थमा उनलाई मोवाइलको पहिलो डाक्टर हुन् भन्दा फरक पर्दैन । विस २०५६/५७ सालतिर महर्जनको परिवार खाद्यान्न व्यवयासी थिए । साथी मनोज अधिकारीलाई काठमाडौंमा भेट्न जादाँ अधिकारीकै प्रेरणाबाट महर्जन मोवाइल व्यवसायीतिर आर्कषित हुन पुगेका थिए ।
महर्जनका साथी मनोज अधिकारी नेपालको पहिलो मोवाइल व्यवसायी हुन् । उनले काठमाडौंको भोटाहिटीमा मोवाइल व्यवसायको सुरुवात गरेका थिए । साथीको पसलमा भेट्न जादाँ र साथीले गरेका काम देखेर महर्जन पनि यस पेशामा आकर्षित भए । उनले विस २०५७ सालमा हेटौंडाको रिजाल कम्प्लेक्समा टेलिकम ट्रेडर्स नामक पसल खोले । सुरुमा महर्जनले कडलेसको काम गरेका थिए । जुनबेला हेटौंडामा मोवाइल आइपुगेको थिएन । त्यसबेला महर्जनले मोवाइल सेट हेटौंडामा भित्र्याएका थिए ।
त्यतिबेला मोवाइलको माहोल अहिले कथा भने जस्तै हुने महर्जन बताउँछन् । हेटौंडामा पहिलो पटक मोवाइल व्यवसायी बन्न पुगेका महर्जनको पसलमा नेपाल टेलिकमले सीम वितरण गरेपछि मोवाइल लिने र हेर्नेको लाइन लामै हुने गथ्र्यो । त्यतिबेला महर्जन नोकियाको टुकटुके लगायतको ब्राण्डका मोवाइल बेच्ने गर्थे । ५० देखी ६० हजारका मोवाइल सेट खरिद गर्न पनि हेटौंडामा तछाँडमछाँड हुने गर्दथ्यो ।
दैनिक महर्जनले ३० देखी ४० वटा मोवाइल सेट बेच्ने गर्दथे । उतिबेला महिनामा करिब एक हजारको हाराहारीमा मोवाइल सेट बेचेको उनको अनुभव छ । महर्जनले मोवाइल बेचेपछि साथी मनोजकै सहयोगमा मोवाइल बनाउन पनि सिकेका थिए । मोवाइल बनाउन सुरु गरेपछि बेच्ने कामलाई उनले विस्तारै बन्द गरेको बताउँछन् ।
परिवार खाद्यान्न व्यवसायी रहेकाले इलेक्ट्रोनिक पेशामा कसैको जाँगर चलेको थिएन् । तर महर्जनले सहि समयमा सहि काममा हात हालेका थिए । उनले यस पेशाबाट नसोचेको व्यवसाय र कमाइ गर्न सफल सफल भए । किराना व्यवसायबाट मोवाइल व्यवसाय बनेका महर्जनको त्यति बेला बजारमा राम्रै रकम फसेको थियो । देशमा द्धन्दकाल सुरु भइसकेकाले महर्जन पनि यो व्यवसायमा राम्रै थला परे ।
विस २०५८/०५९ मा तत्कालीन सरकारले मोवाइल फोन बन्द गराउँदा उनले खरिद गरी ल्याएको मोवाइल सेटहरु नराम्रो तरिकाले फस्न गयो । अहिले उमेरले पनि महर्जनलाई गाह्रो बनायो । आँखाको समस्याले अहिले उनले यो पेशा आफ्ना भाइलाई हस्तान्तरण गरेका छन् । खासगरी हेटौंडाको पहिलो मोवाईल डाक्टर भनी चिनिने उनले आजभोलीका मोवाइलमा सफ्टवयरहरुको समस्या बढी आउने गरेको बताउँछन् ।
धेरै मानिसहरु अहिले यो पेशाबाट आकर्षित भएको देख्दा महर्जनलाई निकै खुसी लागेको छ । आफुले हेटौंडामा मोवाइल व्यवसायी सुरु गर्दा एक्लो थिए । तर अहिले धेरै युवाहरु यस पेशामा आएको देख्दा खुसी लाग्ने उनले बताए । आजभोलि सानातिना मोवाइलहरु ग्राहकले बनाउन छाडेको उनी बताउँछन् किनभने अहिलेका ग्राहकहरु बनाउन भन्दापनि नयाँ मोवाइल किन्नमै बढी आकर्षित भएकाले अहिले मोवाइल प्राविधिकहरुको काममा ह्रास आएको उनको तर्क छ ।
जसरी यस पेशालाई सजिलो देखिन्छ भित्री रुपमा अफ्ठ्यारो पनि छ, विलिङको समस्या देखी अनेकन समस्या जिउँकातिउँ छ । एक लाख साठ्ठी हजारको लगानीमा हेटौंडामा २०५७ सालमा मोवाइल व्यवसाय सुरु गरेका महर्जनले यसै पेशाबाट हेटौंडामा स्थापित भए । कुनैपनि पेशामा धैर्यता भयो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण महर्जनमा लागु हुन्छ ।
उतिबेला मानिसहरुमा मोवाइल बोक्ने रहर ठुलो थियो , त्यतिबेला किन्ने पैसाले हेटौंडामा एक कट्ठा घडेरी नै आउँथ्यो । पैसा भन्दा पनि ग्राहकमा मोवाइल बोक्ने रहरले इच्छापुरा गर्न जति पनि खर्च गर्न लागि परेको उनको अनुभव छ । अहिले त स्र्माट मोवाइलमा ग्राहकहरुको बढ्दो आकर्षणले यस पेशा लामो समयसम्म अगाडी बढ्न सक्ने उनले बताए ।
उनी हेटौंडाको पहिलो मोवाइल व्यवसायी मात्र होइन् पहिलो मोवाइल प्राविधिक पनि हुन् । जुन बेला साथी मनोजको सल्लाहमा उनले यो व्यवसाय सुरु गरे र सहि निर्णय पनि गरे । महर्जन भन्छन् अहिले सपना जस्तै लाग्छ नेपाल टेलिकमले सीम वितरण गरेपछि आफ्नो पसलमा मोवाइल किन्ने र हेर्नेको सडकसम्म लाइन हुन्थ्यो ।