डिल्ली अम्माई,नवलपुर / केहि वर्ष अगाडीदेखि बाग्लुङ्ग जिल्लाको मुलपानीबाट बसाइ सराइ गरेर नवलपुर तथा चितवनका विभिन्न भागमा छरिएर रहेकाहरू पूर्व गाउँलेहरूलाई समेट्ने अभियान चितवन-नवलपुरबाट सुरु भएको छ। बाग्लुङ्गको मुलपानीमा जन्मेर हाल नवलपुरको गैँडाकोट बसोबास गरिरहनु भएका समाजसेवी ध्रुव प्रसाद निउरेको सक्रियतामा बाग्लुङ्ग मुलपानी चितवन-नवलपुर समाज नेपाल निर्माण भई यसले बाग्लुङ्ग तथा चितवन-नवलपुरमा धेरै सामाजिक कार्यहरूको नेतृत्व गरिरहेको छ। सामाजिक कार्यमा अतुलनीय योगदान गरिरहनु भएका उक्त समाजका अध्यक्ष ध्रुव राज निउरेले यो सामाजिक संस्थाको निर्माण गर्दा यसमा मुलपानीबाट बसाइ सरेर चितवन तथा नवलपुर बसाइ सर्नु भएका थुप्रै ब्याक्तित्वहरुले अभियानमा उहाँको अभियानलाई साथ दिए ।
यस अभियानले मानिसको अन्तिम संस्कार गर्ने नदी किनारका घाटहरूको सरसफाइ गर्ने देखि लिएर रक्तदान अभियान सञ्चालन गर्ने,निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने,आफ्नो भेगमा बृक्षा रोपण गरी ती बिरुवाहरूको संरक्षण गर्ने,असहाय वृद्ध बृद्धाकोलागि संरक्षण प्रदान गर्ने,आपदकालमा राहत प्रदान गर्ने ,सुद्ध खानेपानीको लागि सार्वजनिक कार्यालयहरूमा अल्कालाइन फिल्टर राखी दिने,मन्दिर तथा गुठीहरूको जीर्णोद्धार गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने र स्वास्थ्य जनचेतना जगाउने जन्मभूमि केन्द्रित कार्य गर्दै आएको छ।
माथिका कार्यहरूको अलावा यसले साना साना स्कुले बालबालिकालाई पूर्वीय संस्कार तथा सभ्यताको बारेमा पनि प्रशिक्षण दिँदै आएको छ। समग्रमा भन्दा यो संस्थाले नेपालको एउटा सानो क्षेत्रलाई आधार बनाएर कामको सुरुवात गरेको भए पनि सम्पूर्ण नेपालीलाई आफ्नो जन्मभूमिको दायित्व बोध गराएको कुरामा कुनै विवाद छैन। विक्रम सम्बत २०७८ साल मङ्सिर १२ गते स्थापना गरिएको यो समाज वास्तवमा लोक कल्याणकारी सामाजिक संस्था भएको कुरा यसले गरेका सामाजिक अभियानहरूले प्रस्ट पारेका छन्।
यसका अध्यक्ष ध्रुव निउरे भन्नु हुन्छ,ुबास्तवमा हामीले मातृभूमिको लागि एउटा सानो ठाउँबाट सामाजिक रूपान्तरणको सुरुवात गरौँ भन्ने हो। कुनै एक बिन्दुबाट काम गर्न हामीले सामाजिक जागरणको बाटो समातेका हौँ।उहाँका अनुसार यो सङ्गठनको उद्देश्य भौतिक जागरणमा मात्र सीमित छैन। सबैभन्दा पहिला आफ्नो परिवार,जन्मेको गाउँबाट ब्याक्तिबादी सोचलाई परिवर्तन गरेर बिस्तारै चेतनालाई समुदायको हितमा जोड्न सक्नु पर्यो । उहाँले थप्नु हुन्छ,बास्तवमा हाम्रो अभियानको जोड कर्मसँग मात्र नभएर चेतनाको रुपान्तरणसंग समेत अभिन्न रूपले जोडिएको छ ।
यो संस्थाले प्रकृतिलाई बचाउन बृक्षा रोपणको अभियान नै चलाएको छ। आर्थिक अभावको कारण विभिन्न किसिमको ब्याबधान आएको भएता पनि आफ्ना मृत्यु संस्कार गर्ने घाटहरूको सरसफाइ निर्माण र पुन निर्माण गरिरहेको छ। यो संस्था कसरी जन्म्यो भन्ने प्रसङ्गमा समाजसेवी तथा संस्थापक अध्यक्ष निउरे भन्नु हुन्छ । यो संस्था जन्मनुको पनि एउटा रोचक प्रसङ्ग छ पत्रकार ज्यु । २०७८ सालमा बाग्लुङ्ग मुलपानीका अग्रज समाज सेवी स्वर्गीय लाल बहादुर केसीको अचानक मृत्यु भयो। उहाँको देव घाटामा अन्तिम संस्कार गरियो। तिनै मलामीहरूको बिच जन्मभूमि मुलपानीको प्रेम समबेदित भयो। समवेदनाको त्यो उत्कर्षले सबै मुलपानी बासीहरूलाई आफ्ना जन्मभूमिको याद दिलायो। छिमेकी र पाखा पखेराको याद दिलायो। आफ्नो थात थलो र जन्म भूमिको प्रेम उर्लेर उत्कर्षमा पुग्यो । त्यही मलामीहरूको बिचबाट यो संस्था जन्मेको हो।
देव घाटमा जम्मा भएका मलामीहरुलाई समाजसेवी ध्रुव प्रसाद निउरेले मुलपानीबाट बसाइ सरेका सबै सङ्गठित हुनु पर्ने प्रस्ताव राख्नु भयो। संगै उही बन पाखामा खेले हुर्केकाहरु किन दुख सुखमा नजोडिने त ? निउरेको यो प्रस्ताब सबैलाई मन पर्यो र मलामीको बिचबाट एक परोपकारी संस्थाको भ्रूणले जन्म लियो। मुलपानी समाजका सचिव पीताम्बर पन्त भन्नु हुन्छ,बास्तवमा यो संस्था कसैले पूर्व योजना बनाएर तामझामकोबीच जन्मेको थिएन। बिना योजना मृत्यु शोकबाट जन्मेको संस्था भएकोले बाग्लुङ्ग मुलपानी चितवन-नवलपुर समाज नेपाललाई कसै कसैले घाटबाट जन्मेको मलामीहरूको संस्था पनि भन्दछन्।
त्यसैले त यो संस्थाले निउरेको नेतृत्वमा वृद्ध वृद्धा र असहायहरूको सेवामा आँफुलाई समर्पित गर्न सकेको छ। राष्ट्रिय सम्पदाको संरक्षणमा चासो दिएको छ। प्रकृति र बन जोगाउन समितिले विभिन्न अभियानहरू नै चलाई रहेको छ। बाल बच्चाहरूलाई आँफु जन्मेको भूमि चिनाउने र त्यस प्रति आफ्नो दायित्वबोध गराउने काम गरी रहेको छ। वास्तवमा यो संस्थाले जन्म भूमिको लागि आफ्नो दायित्व भन्ने महाअभियानको सृष्टि गरेको छ। यसले नियमित रूपमा देवघाट धाम,बाग्लुङ्गको निरय घाट लगायतका आस्थाका स्थानहरूको सर सफाइलाई प्राथमिकता राखेको छ।
अहिले पहिला जस्तो छैन,हामीहरू बेला बेलामा भेला हुन्छौँ र आफ्नो थातथलोको लागि के गर्न सकिन्छ भनेर सपना देख्छौँ। भन्दै अध्यक्ष निउरेले यो पंतिकारलाई मुलपानी समाजले अहिलेसम्म गरेका कामहरूका तस्बिरहरू देखाउन थाल्नु भयो। अन्त्यमा उहाँले भन्नु भयो । यो मेरो मात्र अभियान हैन,हामी मुलपानी बासीले एकसाथ जन्माएको समाज हो हजुर,यो अभियानले देश भरि थातथलो छोडेकाहरूलाई आफ्नो भुमिमाताको सम्झना गराई देवस,कर्तव्यको एउटा सानो झिल्को उहाँहरूको मनमा पनि आओस् भनेर मैले यत्ति भनु ।
यो संस्थाका कानुनी सल्लाहकार रामनाथ गौतमले एक कार्यक्रममा भन्नु भएको थियो,सामाजिक सेवाको अर्थ कार्य, र व्यक्ति, परिवार, समूह र समुदायका लागि फरक पार्ने शक्ति भएको गतिशील र अद्वितीय मद्दत गर्ने सेवा हो । सामाजिक सेवाको प्राथमिक लक्ष्य भनेको समाजको समग्र कल्याणलाई सुधार्नु हो, विशेष गरी सबैभन्दा कमजोर जनसङ्ख्याको लागि सुधार्नु हो ।समाज सेवा गर्नेहरूले समाजका सबैभन्दा दुखी , गरिब, असहाय, कमजोर र सीमान्तकृत व्यक्तिहरूको सहयोगका लागि काम गर्छन् । उनीहरूको अधिकारको प्रवर्द्धन गर्न, असमानताहरू हटाउन मद्दत गर्दछन् । उनीहरूका जीवनमा रहेका चुनौती हटाएर गुणस्तरमा सुधार गर्न समाजसेवा गर्नेहरूले काम गर्दछन् । यी कामहरूले सामाजिक कार्यकर्ताहरूलाई नैतिक रूपमा अगाडि बढ्न मद्दत गर्दछ । यही उद्देश्यबाट प्रेरित भएर नै जन्मभूमिको नाममा यो संस्था जन्मन पुग्यो।
मुलपानी समाजको कार्य समितिका उपाध्यक्ष द्वय शान्ता कुमारी पन्त र खिमा शर्मा निउरे, सचिव पीताम्बर पन्त,कोषाध्यक्ष यज्ञ कुमार सापकोटा हुनुहुन्छ भने सदस्यहरूमा क्रमशः यज्ञ कुमार सापकोटा,हेमन्त केसी,लक्ष्मी गौतम,रुद्र निउरे,बद्री प्रसाद गैरे,सुशीला गैरे,गोविन्द उपाध्याय,चेतराज पाण्डेय,विष्णु प्रसाद गौतम,पदम राज पौडेल,खगेश्वर गौतम र नारायणराज पन्त रहनु भएको छ।
यसले हर हिसाबलाई चुस्त पार्न कालिदास पाण्डेयको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्माण गरेको छ। जसमा भीम केसी र भक्ति विलास शर्मा रहनु भएको छ। समितिको सल्लाहकार समितिमा सन्तोष पन्त, डाक्टर सुदर्शन सिलवाल,लेखराज पन्त,नारायण प्रसाद गौतम,मेघराज पन्त र रामनाथ गौतम रहनु भएको छ।