♦सुमिना चौलागाई
हेटौँडा \ मकवानपुरगढी गाउँपालिकाले शैक्षिक सत्र २०८२ का लागि शैक्षिक क्यालेण्डर तयार पारेको छ । पालिकाले तयार पारेको क्यालेण्डरअनुसार २०८२ सालमा मकवानपुरगढीका विद्यालय २६३ दिन संचालन हुनेछ भने १९७ दिन पठनपाठन हुनेछ । यस्तै २१ दिन परीक्षा संचालन हुनेछ । बाँकी ४५ दिन परीक्षाको विश्लेषण समय रहने पालिकाका शिक्षक सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।
शैक्षिक क्यालेण्डर अनुसार विद्यालयमा यस वर्ष पहिलो त्रैमासिक परीक्षा असारको ३१ गतेदेखि सुरु भई साउन ७ गते समापन हुनेछ भने दोस्रो त्रैमासिक परीक्षा मंसिर २६ गतेबाट सुरु भई पुस ४ गते सकिनेछ । यस्तै वार्षिक परीक्षा चैत ८ गतेबाट सुरु भई चैत १६ गते समापन हुनेछ । वार्षीक परीक्षा एसईईअनुसार संचालन हुने सहजकर्ता फुयालले जानकारी दिनुभयो । प्रथम त्रैमासिक परिक्षा अघि ६९ दिन अध्यापन हुनेछ । । यस्तौ प्रथम र अर्ध वार्षिक परिक्षाबिच ६५ दिन र अर्ध वार्षिक र वार्षिक परिक्षाबीच ६३ दिन अध्यापन हुनेछ ।
शैक्षिक सुधारका लागि पालिकाले शिक्षक र विद्यार्थी दुबैलाई डायरी वितरण गर्ने भएको छ । शिक्षा क्षेत्रमा सुधार गर्ने उद्देश्यसहित पालिकाभित्र रहेका ३७ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकलाई डायरी वितरण गरिने शिक्षा सहजकर्ता फुयालले जानकारी दिनुभयो । डायरीमा शिक्षकहरूले वर्षभरि गरिने पठनपाठनका क्रियाकलापका बारेमा टिप्पोट गर्नेछन् । साथै डायरीमा शिक्षकहरूले दैनिक शिक्षण गर्ने विषय, शैक्षिक क्रियाकलाप, शिक्षकको व्यक्तिगत विवरण, विद्यालय तहको पाठ्यक्रमको संरचना, शिक्षकको दैनिक कार्यतालिका, परीक्षामा प्राप्त प्राप्ताङ्कको तालिका, वार्षिक शैक्षणिक योजना लगायत अन्य विषयमा टिप्पणी गर्न सक्ने सहजकर्ता फुयालले जानकारी दिनुभयो ।
यस्तै पालिकाले विद्यार्थीलाई पनि विद्यार्थी डायरी वितरण गर्ने भएको छ । पठनपाठन सुरु भएपछि विद्यार्थीलाई डायरी वितरण गरिनेछ । डायरीमा विद्यार्थीको उपस्थिति अभिलेख, परीक्षा तालिका, विद्यार्थीले विषयगत रूपमा सोचेको प्राप्ताङ्क र प्राप्त प्राप्ताङ्क, विद्यार्थीको सरसफाई, शिक्षकको सुझाव, अभिभावकको सुझाव, परीक्षा, गृहकार्य लगायतका विषयहरू समावेश हुने उहाँले जानकारी दिनुभयो ।
पालिकाले यस वर्ष चैत्र २६ गतेदेखि ३१ गतेसम्म अभिभावक भेटघाट कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई अनुरोध गरेको छ । भेटघाट कार्यक्रमका क्रममा शिक्षकहरूले अभिभावकहरुलाई परामर्श गर्ने कार्यसूची रहेको छ । अभिभावक भेटघाट कार्यक्रममा प्रत्येक वडाका जनप्रतिनिधिहरू पनि उपस्थित हुने सहजकर्ता फुयालले बताउनुभयो । २०८२ साल वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख ७ गतेबाट नियमित पठनपाठन सञ्चालन गराउने पालिकाको योजना रहेको छ । बैशाख महिनामा अभिभावक शिक्षा कार्यक्रम संचालन गर्ने उहाँको भनाई छ ।
शैक्षिक योजना अन्तर्गत विद्यालयले आफ्नो शैक्षिक योजना बनाएर बैशाख मसन्तसम्म पालिकामा बुझाउन सबै विद्यालयलाई अनुरोध गरेको छ । बैशाख १५ गते भित्र शिक्षकहरूसँग विद्यालयले कार्यसम्पादन सम्झौता गर्नुपर्ने फुयालले बताउनुभयो । सम्झौता अनुरूप विद्यालयले कक्षागत पठनपाठन, तोके बमोजिमको विद्यार्थीको मूल्याङ्कन, विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले गरेको शैक्षिक निर्णयहरू कार्यान्वयन हुनुपर्ने, शैक्षिक सामग्रीसहितको पाठ योजना, विषयगत योजना लगायत योजना बनाई पालिकामा बुझाउन अनुरोध गरिएको भनाइ छ ।
यसै वर्षबाट गाउँपालिकामा पञ्चवर्षीय गाउँ शिक्षा योजना समेत निर्माण भएको छ । शिक्षा क्षेत्रमा बजेट व्यवस्थापन, नतिजा सुधार हुँदै आएको छ । मकवानपुर जिल्ला सबैभन्दा पहिले शैक्षिक क्यालेण्डर गढी गाउँपालिकाले वितरण गरेको छ । शिक्षकलाई प्रविधिमैत्री शिक्षामा संलग्न गराउन कठिन भएको पालिकाको ठहर छ । गाउँपालिकाले आगामी दिनमा शिक्षकको क्षमता विकासमा लगानी, प्रत्यक्ष रुपमा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार, नियमित सिकाईमा वृद्धि, प्राविधिक शिक्षामा जोडदिने लगायतका लक्ष्य रहेको छ । पालिकामा वर्षेनी विद्यार्थीको संख्या घट्दै गएको छ । ३ वर्षमा दुई हजार जना विद्यार्थी घटेका छन् । मकवानपुरगढी गाउँपालिकाकामा २०७९ सालमा ७ हजार ५ सय १४ जना विद्यार्थी भर्ना भएका थिए भने २०८० सालमा ९ सय ३२ जनाले घटेर छ हजार पाँच सय ८२ जनामा झरेको थियो ।
२०८१ सालमा एक हजार ५४ जना विद्यार्थी घट्दै ५ हजार ४ सय २६ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष छ हजार पाँच सय ८२ जना विद्यार्थी भर्ना भएका छन् । मकवानपुरगढीमा आधारभूत (कक्षा ५ सम्मका) विद्यालय २० वटा, निमावि (कक्षा ८ सम्मका) ७ वटा र माध्यमिक १० वटा रहेका छन् ।-समृद्धसमाजबाट
