हेटौंडा \ हावाहुरीको मौसम सुरु भएसँगै बागमती प्रदेशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढेको छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिएको छैन । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दै गएको देखिन्छ । बागमती प्रदेशको विभिन्न जिल्लामा डढेलोका कारण चिरान काठसहित खानेपानी पाइपदेखि धेरै सम्पत्तिको क्षति, जंगली जनावरको पनि आगलागीका कारण मृत्यु भएको छ ।
यो वर्ष पनि बागमती प्रदेशका ४ जिल्लाको २६ सय ३० दशमलव ९५ प्रतिशत हेक्टर क्षेत्रफलको वनमा डढेलो लागिसकेको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सञ्जिव सुवेदीका अनुसार प्रदेशको मकवानपुर, नुवाकोट, दोलखा र रसुवाको वनमा डढेलो लागेको हो । उनले अन्य जिल्लाको वनमा पनि डढेलो लागेको हुन सक्ने भए पनि हालसम्म आफूहरूले त्यसको विवरण नपाएको बताए । सुवेदीका अनुसार यो चैत महिनामा मात्रै मकवानपुर जिल्लाको २५ सय ३६ हेक्टर, नुवाकोटको ८७ दशमलव ३ हेक्टर, दोलखाको २३ दशमलव ५५ हेक्टर र रसुवा जिल्लाको ८४ दशमलव १ प्रतिशत हेक्टर वनमा डढेलो लागेको छ ।
सुवेदीले प्रदेशका १३ वटै जिल्लासँग वन डढेलोको विवरण पठाउन माग गरेको भए पनि हालसम्म ४ वटा जिल्लाले मात्रै विवरण पठाएको भन्दै वन डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने बताए । उनले भने, ‘हामीले प्रदेशका १३ वटै जिल्लालाई वनमा लागेको डढेलोको रिपोर्ट पठाउन भनेका छौं तर हालसम्म ४ वटा जिल्लाले मात्रै पठाएकाले २६ सय ३० दशमलव ९५ प्रतिशत हेक्टरमा वन डढेलो लाग्यो भनिएको हो । यो संख्या बढ्न पनि सक्छ ।’
सुवेदीका अनुसार डढेलोका कारण मकवानपुर जिल्लामा एकजनाको मृत्यु भएको छ भने ३ सय ८९ रुख जलेर नष्ट भएको छ । दोलखामा ३ बंगुर जलेर क्षति भएको छ । मकवानपुर जिल्लामा मात्रै ४ हजार ३ सय ५० खम्बा, ४० हजार २ सय ५८ लाथ्रा र ४ लाख ३१ हजार २९ बिरुवा नष्ट भएको छ । दोलखामा ६ हजार २६ लाथ्रा ७ हजार ७ सय ५० विरुवा नष्ट भएको भने नुवाकोट जिल्लामा एक सय खम्बा , ५ हजार ८ सय ५० लाथ्रा र १७ हजार १ सय ५० विरुवा नष्ट भएको छ ।
बागमती प्रदेशको कुल क्षेत्रफलको ५९.२७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । निकुञ्ज समेत रहेको बागमती प्रदेशका यी वन जंगलमा लोपोन्मुख जंगली जनावर पनि रहने गर्दछन् । हालसम्म मन्त्रालयले डढेलो नियन्त्रणका लागि प्रदेशका केही जिल्लालाई ह्याण्डपम्प लगायतको उपकरण वितरण छ । डढेलो लगाउने पक्राउ नपर्दा र कारबाही हुन नसक्दा पनि यसलाई नियन्त्रण र रोकथाम गर्न नसकिएको उनले बताए । डढेलो लगाउनेलाई ६० हजार जरिवाना, तीन वर्ष जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ ।