कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कार्यालय प्रमुख मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यबारे मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तरक्रियामा मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे प्रष्ट्याएका थिए । उनले जिल्लागत र कैलाश गाउँपालिकाको महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै कैलाश गाउँपालिकामा गर्भजाँच गतवर्ष १०८.५७ प्रतिशत रहेको र चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको प्रमुख मिजारले बताए । उनले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आवमा ६०.८६ प्रतिशत र गतवर्षमा ९९.२२ प्रतिशत रहेको समेत बताए ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दै रहेको बताउँदै प्रमुख मिजारले कैलाशमा फागुन सम्ममा ४२.७४ प्रतिशत र गतवर्ष ४९.९ प्रतिशत रहेको बताए । यहाँ होमडेलिभरीको संख्या बढ्दो छ । जिल्लामा होमडेलीभरीको संख्या १०४ जना रहेकोमा कैलाशमा मात्रै होमडेलिभरीको संख्या ४४ जना रहेको प्रमुख मिजारले भने । गाउँपालिकामा सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशत रहेको छ यसलाई बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनले यहाँहरुको साथ र सहयोगले कार्यसम्पादन गर्न सहजता रहने भएकाले जनस्वास्थ्य कार्यालयले जुनसुकै बेलापनि सहयोग प्रदान गरिने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले सुत्केरी र पोषण लगायत कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं, हामीलाई भौगोलिक दृष्टिले र यहाँको शिक्षाको कमीले पनि होमडेलिभरीको संख्या जुन बढी छ त्यसलाई कम गर्न गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्नेछौं, अध्यक्ष मुक्तानले भने । वडा नम्बर ७ मा बढी सुत्केरी घरमै हुनाले कैलाशमा होमडेलिभरीको संख्या बढि भएको देखिन्छ, हामीले दीगो विकास लक्ष्य २०३० अनुरुप काम गर्नुपर्छ पनि त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचकहरु पुरा गर्दै आइरहेको समेत बताए ।

गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडेर शौचालय कार्डको सुरुवात गरेका छौं । आफु स्वस्थ रहन पत्रु खानाका साथै चिसो र चिसोजन्य पदार्थ प्रयोग नगर्न अध्यक्ष मुक्तानले आग्रह गरेका छन् । जुनबाट कालान्तरमा सुगर र किड्नीमा ठुलो असर पर्ने बताए । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरेका छौं केही वडामा वर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने देखिन्छ पनि त्यसको लागि आवश्यक तयारी रहेको अध्यक्ष मुक्तानले बताए ।
सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण समेत भएको छ । वडातहमा रहेका स्वास्थ्यकर्मीहरुले होमडेलिभरी गर्दा हुने बेफाइदा र त्यसको प्रभावबारे जनचेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगर,जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, वडातहमा रहेको स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।