कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ कैलाशमा जीपलाइनको उद्घाटन गरिएको छ । स्थानीय सरकारले निर्माण गरेको नेपालकै पहिलो जीपलाइनको नयाँवर्षको अवसर पारेर बैशाख १ गते सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै अध्यक्ष मुक्तानले यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय प्रवद्र्धनको उजागर गर्नका लागि बुहवर्षिय योजना बनाई ठेक्का प्रणालीमा निर्माण गरिएको बताए ।

कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थल हुन् । यहाँका दुई पहाडलाई जोड्ने गरी जीपलाइन निर्माण गरेका हौं, अध्यक्ष मुक्तानले भने । हामीले १२ सय मिटर लामो जीपलाइन निर्माण गरेका छौँ,जीपलाइन बाहेकका अन्य संरचना निर्माण गर्न समेत बाकीँ रहेको अध्यक्ष मुक्तानको भनाइ रहेको थियो । आव २०८०÷०८१ मा फोरजी कम्पनीले सम्भाव्यता अध्ययन पश्चात हामीले निर्माणको कार्य अघि सारेका थियौँ, निर्माण सम्पन्न पश्चात परीक्षण समेत गरेका छौं, अब सञ्चालन हुन्छ, उनले भने ।

यहाँ मकवानपुर सहित चितवन, धादिङ, काठमाडौं ललितपुरका जीपलाइन पाखरीहरुको गन्तव्यको रुपमा यस जीपलाइन हुनेमा विश्वस्त रहेको अध्यक्ष मुक्तानले बताए । यस क्षेत्रमा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन कर्ताको लागि छिट्टै होमस्टे सञ्चालन गरिने बताए । बैकुण्ठ क्षेत्रमा डाँफे मुनाल पार्क, डम्फु पार्क, चितुवा पार्क, भाइरल पिङ, बैकुण्ठ नामाकरण गर्ने विष्णुकुण्ठ, सतिप्रथाको ऐतिहासिक एक सतिघाट रहेको छ त्यसलाई संरक्षण गर्दै पर्यटकहरुलाई मनमोहक बनाउने अन्य स्थलहरु रहनुका साथै बनभोजका स्थलहरु निर्माणको तयारी रहेको अध्यक्ष मुक्तानले बताए ।

यहाँसम्म आउन सडक सञ्जालको ट्रयाक निर्माण भएको छ तर त्यस सडकलाई व्यवस्थित गर्न समस्या रहेको छ । विस्तारै सडक सञ्जाललाई पनि प्रदेश र संघीय सरकारबाट बजेट ल्याउन पहल गरिने उनले बताए । मनहरी बजार, थाहा नगर र धादिङको गजुरीबाट करिब ३३ किलोमिटरको सडकदुरीमा बैकुण्ठ क्षेत्र रहेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले कैलाश र बैकुण्ड ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको बताए । यस क्षेत्रको वृद्धि विकासमा तीनतहकै सरकारले ध्यान दिनुपर्ने बताउँदै गाउँपालिकाको लगानीमा साहसिक खेल जीपलाइन निर्माण गरिएको बताए । जीपलाइन सँगै धार्मिक तथा पर्यटकीय क्षेत्रका अन्य संरचना पनि निर्माण गरिने बताए ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङले कैलाश बैकुण्ठको धार्मिक तथा पर्यटकीय क्षेत्रमा जीपलाइन सञ्चालनले थप टेवा पुगेको बताए । अवलोकन गर्न आउने आन्तरिक पर्यटकका लागि जीपलाइनले थप आकर्षण गरेको उनको भनाई रहेको थियो । जीपलाइन सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सीप तालिम प्रदान गरिएको उनले बताए ।

वडाध्यक्ष घिसिङको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा ८ का वडाध्यक्ष आशिष प्रजा, वडा सचिव प्रकाश अर्याल, वडा २ का वडा सदस्य सुर्यबहादुर स्याङ्तान, फूलमाया सुनार, वडा सचिव नितेशकुमार यादव, समाजसेवीहरु भूवन नेगी, रामलाल स्याङ्तान, लक्ष्मीदेव घिसिङ, ललित मुक्तान, चन्द्र सारुमगर, देवीलाल थिङ, सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।