कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकामा १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम भएको छ । गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तरगत मर्मत तालिम सञ्चालन गरेको हो ।
सोमबार तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकामा कृषकले खेतीपाती गोरु पालेर परम्परागत रुपमा गर्दै आइरहेको अवस्थामा पछिल्लो समय प्रविधिसँग जोडिँदै गएको बताए । गाउँपालिकाभित्र व्यक्तिगत र कृषक समूह मार्फत अनुदान कार्यक्रम मार्फत पाँच सय भन्दा बढी हाते ट्याक्टर रहेको अनुमान छ, तिनको बिग्रेपछि थन्क्याएर राख्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ, अध्यक्ष मुक्तानले भने । ट्याक्टर मर्मत तालिमले अब ती मर्मत गरेर पुन सञ्चालन गर्न सकिने उनको भनाई रहेको थियो ।
मर्मत गर्न मनहरी कि त हेटौंडाबाट प्राविधिक बोलाउनु पर्ने र बोलाउँदा खर्चको भार कृषकको बढ्ने अवस्था थियो, अब यस तालिम पश्चात सामान्य मर्मत गर्न अब घरमै सकिने भएकाले केही सहजता बनेको अध्यक्ष मुक्तानले बताए । सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै गाउँघरका माटोको अवस्था कस्तो छ ? रसायनिक मल प्रयोगले माटोको उत्पादन शक्ति को अवस्थाबारे पनि थाहा पाउनु पर्ने जरुरी रहेको बताए । उनले यी मर्मत तालिमलाई आगामी दिनमा प्राथमिकतामा राखेर तालिम प्रदान गरिने बताएका छन् ।

कृषिलाई यान्त्रिकरण गर्ने क्रममा गाउँघरमा हाते ट्याक्टर वितरण गरिएको अवस्था छ, ती मेशिनरी वस्तु बिग्रेपछि मर्मत गर्न कठिनाई रहेको अवस्थामा मर्मत तालिम प्रदान गरेका हौं, उपाध्यक्ष बालकुमार मल्लले भने । मर्मतको सीपले खर्चको भार कम हुनुका साथै अन्य ट्याक्टर मर्मतले आउआर्जनको स्रोत समेत वृद्धि रहने उपाध्यक्ष मल्लले बताए । लघु उद्यम सीपले गरिबी निवारणमा टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले बताए । आफ्नो घरको मात्र नभई गाउँघरका अन्य ट्याक्टर पनि मर्मत गरेर आफ्नो सीप प्रदर्शन गर्नसहभागिलाई आग्रह समेत गरेका छन् । समय र स्रोत साधनको कमी रहेकाले आगामी दिनमा थप तालिमको व्यवस्था गरिने श्रेष्ठले बताए ।

वडा ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा सदस्य विविराज थिङ, प्रशिक्षक दुर्गाबहादुर बोम्जन, वडा ८ का सचिव प्रकाश अर्याल, उद्यम विकास प्रमुख प्रमिला अर्याल, कृषि प्राविधिक प्रताप थिङ लगायतको आतिथ्यता रहेको थियो ।
वडा नम्बर ८ भार्तामा चैत्र २९ गतेबाट सुरु भएको तालिम १० दिन सम्म सञ्चालन भएको उद्यम विकास प्रमुख प्रमिला अर्यालले बताईन् । तालिममा १६ जनाको सहभागिता रहेको थियो । तालिमलाई दुर्गा बहादुर बोम्जनले प्रशिक्षण गरेको प्रमुख अर्यालले बताईन् । सामान्य मर्मतका लागि पनि प्राविधिक बाहिरबाट ल्याउँदा खर्चिलो बढी हुने अवस्थामा धेरै सीप नजानेता पनि घरमा भएको साधनको मर्मत गर्न सकिने सहभागीहरुकोले बताएका छन् ।