कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्नका लागि वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको छ । गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताए । विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताए ।
तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गर्नुहुनेछ, मुक्तानले भने । उक्त परियोजनाका लागि गाउँपालिकाले वास परियोजनाहरुको प्राथमिककता, छनौट र कार्यान्वयनको पक्षमा सहजिकरणको भूमिका खेल्नेछ । खानेपानी परियोजनाका लागि गाउँपालिकाले कूल बजेटको न्यूनतम २५ प्रतिशत साझेदारी गर्नेछ भने उक्त कार्य उपभोक्ता समिति मार्फत गराउने अध्यक्ष मुक्तानले बताए ।
कूल बजेटमा १० प्रतिशत उपभोक्ताले साझेदारी गर्ने र ६५ प्रतिशत वाईन टु वाटरले गर्ने संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले बताए । हाम्रो तीन वर्षको सम्झौता हो, ०८५ असार मसान्तमा सम्झौता रद्द रहन्छ, उनले बताए । सम्झौता अघि खानेपानी तथा सरसफाइ योजनाको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गरिएको थियो । अध्ययनको क्रममा १२ वटा योजनाको सम्भाव्यता अध्ययन गरिएको संस्थाका राष्ट्रिय निर्देशक निजन श्रेष्ठले बताए । आगामी आवका लागि ७ वटा योजना कार्यान्वयन गरिने गरि काम अघि बढाउने उनले बताए ।
समझदारी पत्रमा अध्यक्ष मुक्तान सहित प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, संस्थाको तर्फबाट राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले हस्ताक्षर गरेका छन् । भौगोलिक विकट रहेको कैलाशमा यस परियोजनाका लागि साझेदारीमा कार्यगर्दा खानेपानी र सरसफाइको क्षेत्रमा थप टेवा पुग्ने अध्यक्ष मुक्तानले बताए ।