हेटौंडा \ नेपाललाई सन् २०३० सम्ममा औलोमुक्त राष्टको रुपमा पु¥याउने संकल्पका साथ सन् २०२६ बाटै जिरो बनाउने लक्ष्य रहेको जनाइएको छ । पुन लगानी, पुन सोच र पुन जागरणः हामीबाटै औलो निवारण भन्ने नाराका साथ विश्व औलो दिवसको अवसरमा शुक्रबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा औलो रोगका विरामीलाई २०२६ बाटै जिरो संख्या बनाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले बताए ।
उनले चालु आवमा मकवानपुरमा एक जनामा संक्रमण देखिएको बताए । गत वर्ष मकवानपुरमा कुनै पनि औलो संक्रमित फेला परेका थिएनन् । तर, यस वर्ष भने बकैया गाउँपालिकामा एक जना आयातितमा औलो संक्रमित भेटिएको हो, उनले भने ।
औलो संक्रमित भेटिँदा पनि औलो परिक्षण दरमा भने कमी आएको बताउँदै मकवानपुरमा गत वर्ष तीन हजार तीन सय ९४ जनाले औलो परिक्षण गराएको बताए । चालु आवमा भने ९ महिनाको अवधिमा एक हजार पाँच सय ८८ जनाको औलो परिक्षण गरिएको छ । उच्च ज्वरो आएमा अनिवार्य रुपमा औलो परिक्षण गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
यस आर्थिक वर्षमा नेपालमा कुल सात सय ९१ औलो बिरामी फेला परेकामा बागमती प्रदेशका ९१ जनामा संक्रमण पुष्टी भएको कार्यालयको तथ्याङ्क रहेको छ । जसमध्ये १ मात्र स्थानीय र बाँकी आयातित रहेको घिमिरेले बताए । अधिकृत घिमिरेले नेपालमा औलो निवारणका कार्यक्रमहरु, राष्ट्रिय रणनीति, दीर्घकालीन सोच, ध्येय, लक्ष्य उद्देश्यबारे प्रस्तुती दिनुका साथै औलो रोगका परिक्षण तथा उपचार, स्थानीय र आयातित औलो बारे जानकारी दिएका थिए ।
औलो एनोफिलिज नामको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया निरीक्षक उर्मिला आचार्यले बताईन् । औलो संक्रमण हुँदा उच्च काम ज्वरो आउने, शरीरका जोर्नीहरु दुख्ने, वान्ता हुने जस्ता लक्षण देखा पर्नेछन् । ज्वरो आएपछि अनिवार्य जाँच र निगरानीमा रहनुपर्नेमा आचार्यले जोड दिईन् । कीटजन्य रोगहरुको निशुल्क परिक्षक हुने उनले बताईन् ।
कार्यक्रममा खोप अधिकृत मनिर आलम, मलेरिया निरिक्षक उर्मिला आचार्य, जनस्वास्थ्य अधिकृतद्धय लक्ष्मण घिमिरे र बासुदेव रिमाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।